लाओसलाई २-१ ले पराजित गर्दै नेपालले उचाल्यो थ्री नेसन्स कपको उपाधि

चैत्र १७, २०७९ |कान्तिपुर टीभी संवाददाता
लाओसलाई २-१ ले पराजित गर्दै नेपालले उचाल्यो थ्री नेसन्स कपको उपाधि

काठमाडौं । नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनलमा लाओसलाई २-१ गोल अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो ।

१७ औं मिनेटमा गोल गर्दै फोउचाङभोङ साङ्भिले लाओसलाई अग्रता दिलाएका थिए । तर २४ औं मिनेटमा नेपालका आयुष घलानले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलको ८७ औं मिनेटमा मनीष डाँगी ले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाए । अञ्जन विष्टले दिएको पासमा मनिषले उत्कृष्ट गोल गरे । यसपछि दुवै टिमले अंक थप्न सकेनन् ।  मनीषको उक्त गोल नै निर्णायक बन्यो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा लाओसले आक्रामक शुरुवात गरेको थियो । १७ औं मिनेटमा फोउचाङभोङको गोलपछि दबाबमा परेको नेपाली टोलीले केही राम्रा अवसर बनाए पनि सदुपयोग गर्न असफल भएको थियो । २४ औं मिनेटमा एरिक विष्टको पासलाई आयुषले पेनाल्टी क्षेत्रबाट अगाडि बढाउँदै जाली चुमाउन सफल भएका थिए । नेपाली टोलीले त्यसपछि पनि केही मौका पाएको थियो तर अग्रपंक्तिका खेलाडीले सदुपयोग गर्न सकेन ।

दोस्रो हाफमा भने नेपालले लाओसलाई दबाब दिएर खेल्न सफल भयो । ५६ औं मिनेटमा मनीष डाँगीको क्रसमा नेपालका आयुष र दीपक सिंह ठकुरीबीचको तालमेल अभावमा अवसर खेर जान पुग्यो । ५८ औं मिनेटमा नेपालका नविन लामाको कर्नरमा अनन्त तामाङको हेडरले गोलको दिशा लिन सकेन । खेलको ६१ औं मिनेटमा नेपालका आयुष घलान गोल गर्न चुके । नवीनको पासमा खाली पोस्टमा अनमार्क रहेका आयुषको हेडर प्रयास पोस्टमाथिबाट बाहिरिएको थियो । त्यसको सात मिनेटमा निशान खड्काको फ्री-किक पोस्ट बारमा लागेर फर्किएको थियो । ७४ औं मिनेटमा नेपालका नवीन लामाको पासमा अञ्जन विष्टको कडा प्रहार रिबाउन्डमा मनीष डाँगीले गोल गरे पनि रेफ्रिले अफसाइडको इसारा गरे । बाँकी सयममा दुवै टिमले अंक जोड्न सकेनन् ।

यस जितसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ भने लाओसले ३ हजार डलर प्राप्त गरेको छ । फाइनलमा खेलमा मनीष डाँगी म्यान अफ दि म्याच चुनिँदै नगद २ सय ५० डलर प्राप्त गरे । यस्तै प्रतियोगितामा आयुष घलान सर्वोत्कृष्ट खेलाडी हुँदै नगद ५ सय डलर हात पारे । प्रतियोगितामा तीन टोलीको सहभागित रहेको थियो । भुटान समूह चरणबाटै बाहिरिँदा नेपाल र लाओसले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.