२२औं तिलोत्तमा गोल्डकप : उद्घाटनमा खेलमा सुदूरपश्चिम ११ विजयी

चैत्र ४, २०७९ |अमृता अनमोल
२२औं तिलोत्तमा गोल्डकप : उद्घाटनमा खेलमा सुदूरपश्चिम ११ विजयी

बुटवल । आयोजक करेन्ट रुपन्देही ११ लाई हराउँदै सुदूरपश्चिम ११ बुटवलमा सुरु तिलोत्तमा गोल्डकपमा विजयी भएको छ ।

एन्फा एकेडेमीको खेलमैदान देवीनगरमा शनिबार भएको २२औं तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा ३-१ गोलअन्तरले रुपन्देहीलाई पछाडि पार्दै सुदूरपश्चिम अघिल्लो चरणमा प्रवेश गरेको हो ।

सुदूरपश्चिमको जितमा फागुराम थारुले पहिलो हाफको ३१ मिनेटमा गोल गरेर खाता खोलेका थिए । मध्यभागमा रहेको बललाई छक्काउँदै फ्रिकिकमार्फत उनले गोल गरे । यस्तै खेलको ४७औं मिनेटमा स्वाम्या हार्दिकले गोल थपे ।

दुई गोलअन्तरले हौसिएको सुदूरपश्चिमका तर्फबाट खेलको ६९ मिनेटमा फागुराम थारुले अर्को गोल थपे । रुपन्देही-११ का तर्फबाट एकमात्र सान्त्वना गोल खेलको अन्तिम मिनेटमा विदेशी खेलाडी फोडे फोफोनाले गोल गरेका थिए ।

सुदूरपश्चिमको डी एरियाभित्र फल भएपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै रुपन्देहीका जर्सी नम्बर ७ का फोडे फोफोनाले गोल गरेका हुन् । प्रतियोगितामा सुदूरपश्चिमका फागुराम थारु म्यान अफ दी म्याच घोषित भए ।

भोलि (आइतबार) को खेल हिमालयन शेर्पा र थ्री स्टारबीच हुनेछ । दुई विभागीयसहित आठ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एकथान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने आयोजक रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ । 


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement