दिल्ली क्यापिटल्स ११ रनले पराजित

चैत्र ३, २०७९
दिल्ली क्यापिटल्स ११ रनले पराजित

मुम्बई । महिला प्रिमियर लिगमा गुजरात जायन्टसले दिल्ली क्यापिटल्सलाई ११ रनले पराजित गरेको छ । गुजरातको ६ खेलमा यो दोस्रो जित हो ।

मुम्बईमा भएको खेलमा दिल्लीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । गुजरातले २० ओभरमा चार विकेट गुमाएर १४७ रन बनाएको थियो । ओपनर सोफिया डंक्ली चार रनमा आउट भइन् । लौरा भाल्भर्टले ४५ बलमा ५७ रनको योगदान गरिन् । हर्लिन देवलले ३३ रन जोडेकी थिइन् । आस्ली गार्डनरले ३३ बलमा अविजित ५१ रनको इनिङस खलेकी थिइन् । जेस जोनासेनले दुइ विकेट लिइन् ।

जवाफमा दिल्ली १८ ओभर चार बलमा १३६ रनमा अलआउट भयो । सेफाली बर्मा ८, मेग लेनिङ १८ रनमा मैदान बाहिरिन् । मारिजन क्यापले सर्वाधिक ३६ रन जोडे पनि जितसम्म पुग्न पर्याप्त भएन ।

किम गर्थ, तनुजा कनवर र गार्डनरले दुई-दुई विकेट लिए । यो जितपछि गुजरात तालिकाको चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा रहेको यूपी वारियर्सको पनि समान चार अंक छ । शीर्ष तीनमा रहने टिम प्ले अफका लागि छनोट हुनेछन् ।