सहिद स्मारक ए डिभिजन लिग : चर्च ब्वाइज र मच्छिन्द्रले अंक बाँडे

चैत्र ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
सहिद स्मारक ए डिभिजन लिग : चर्च ब्वाइज र मच्छिन्द्रले अंक बाँडे

काठमाडौं । चर्च ब्वाइज युनाइटेड र डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले राजाधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

च्यासल मैदानमा भएको खेलमा स्टार खेलाडीले भरिएको चर्च ब्वाइजले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसक्दा डिफेन्डङ च्याम्प्यिनसँग अंक बाँड्न बाध्य भएको हो । स्पष्ट अंक निकाल्ने रणनीतिका साथ आक्रामक फुटबल खेलेका दुवै टोली अग्रपंक्तिमा चुकेका थिए ।

यो बराबरीसँगै चर्च ब्वाइजले पाँच खेलमा ११ अंक जोड्दा मच्छिन्द्रको समान खेलबाट पाँच अंक भएको छ । मच्छिन्द्रले नवप्रवेशीसँग अंक खोस्न असफल हुँदा तालिकामा अगाडि चढ्न कठिन भएको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा ११औं मिनेटमा चर्च ब्वाइजले पहिलो अवसर खेर फाल्न पुगेको थियो ।

आशिष चौधरीले प्रहार गरेको बल पोस्ट बारमा लाग्दै बाहिरिएको थियो । २७औं मिनेटमा आशिष चौधरीले उपलब्ध गराएको पासमा आशिष चापागाईं पेनाल्टी क्षेत्रमा चुके । खेलको ३१औं मिनेटमा मछिन्द्रका उत्सव राईको प्रहार सेकेन्ड बार नजिकैबाट चर्च ब्वाइजका गोलकिपर प्रिसोले उत्कृष्ट बचाउ गरे । खेलको ४०औं मिनेटमा मछिन्द्रका कप्तान सुजल श्रेष्ठको कर्नर प्रहारमा देवेन्द्र तामाङको टार्गेटले सही दिशा लिन सकेन । ४२औं मिनेटमा पुजन उपरकोटीले रातो कार्ड व्यहोर्दै मैदान छाडेपछि मच्छिन्द्र १० खेलाडीमा समेटिएको थियो । पुजनले चर्च ब्वाइजका जोसेफ बेम्पालाई कुहिनोले प्रहार गरेपछि रेफ्री नवीन्द्र महर्जनले सीधै रातो कार्ड देखाएका थिए ।

दोस्रो हाफमा १० खेलाडीमा समेटिएको मच्छिन्द्रले दर्जनौं प्रयास गरे पनि गोल गर्न असफल रह्यो । ५५औं मिनेटमा आशिष चौधरीको पेनाल्टी बक्सभित्रको प्रहार फितलो रह्यो । बाँकी समयमा मच्छिन्द्र रक्षात्मक खेल्दा चर्च ब्वाइजको आक्रामक रणनीति विफल रह्यो र खेल गोलरहित बराबरीमा टुंगियो । लिगका सुरुवाती तीन खेलमा क्रमशः नेपाल पुलिस क्लब, एफसी खुमलटार र हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै चर्चा कमाएको चर्च ब्वाइज चौथो खेलमा भने संकटासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

उता सुरुवाती दुई खेलमा क्रमशः जावलाखेल र त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजय व्यहोरेको मच्छिन्द्रले तेस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई गोलरहित बराबरीमा रोकेको थियो भने चौथो खेलमा मच्छिन्द्रले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराएको थियो । उपाधि दाबेदार मानिएको मच्छिन्द्रले जारी लिगमा अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेको छैन ।

जावलाखेलको रोमाञ्चक जित

लिगअन्तर्गत शुक्रबारै एन्फा मैदानमा भएको अर्को खेलमा जावलाखेल युथ क्लबले थ्रीस्टार क्लबमाथि १-० को रोमाञ्चक जित निकालेको छ । यससँगै जावलाखेलले जारी लिगमा तेस्रो जित निकालेको छ । नियमित कप्तान अघिल्लो खेलमा दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि उनीबिना खेलेको जावलाखेलका लागि एन्कोटो मासोबीले १६औं मिनेटमा गरेको गोल नै निर्णायक भएको हो । जितसँगै जावलाखेलले ५ खेलमा १० अंक जोडेको छ । थ्री स्टारले ५ खेलमा ७ अंक जोडेको छ ।

लिगमा शनिबार पाँचौं चरणका अन्तिम तीन खेल हुनेछन् । पहिलो खेल च्यासल मैदानमा फ्रेन्ड्स र त्रिभुवन आर्मी क्लबबीच हुनेछ भने दोस्रो खेल विभागीय टोली नेपाल पुलिस र न्युरोड टिम एनआरटीबीच दशरथ रंगशालामा साढे २ बजे हुनेछन् । यस्तै तेस्रो खेल दरशथ रंगशालामा साढे ५ बजे मनाङ मर्स्याङ्दी र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.