विश्व क्रिकेट लिग टू : पपुवान्युगिनीलाई ६ विकेटले हराउँदै युएई विजयी

चैत्र १, २०७९ |कान्तिपुर टीभी संवाददाता
विश्व क्रिकेट लिग टू : पपुवान्युगिनीलाई ६ विकेटले हराउँदै युएई विजयी

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग टूअन्तरर्गत नेपालमा जारी खेलमा पपुवान्युगिनी (पीएनजी) लाई ६ विकेटले पराजित गर्दै युएई विजयी भएको छ ।

युएई र पपुवान्युगिनीबीच आज भएको खेलमा नेपाल भ्रमणमा रहेको युएईले पहिलो जित हात पारेको हो । युएईलाई जिताउन कप्तान मोहमद वासिमले शतकीय इनिङ्स खेले ।

त्रिवि क्रिकेट मैदानमा युएईले टस जितेर पहिले फिल्डिङको निर्णय गरेको थियो । पीएनजीले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रन जोड्यो । पिएनजीको योगफलमा नोरमन भनुवाले ४९ रनको विस्फोटक प्रदर्शन गर्दा कप्तान असद भालाले ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।

ओपनर हिरी हिरी ४ र किप्लीन डोरेगा २४ रनमा आउट हुदा पिएनजीको सुरुवात मध्यम थियो । कप्तान भाला र चाल्र्स अमिनिले चौथो विकेटका लागि ५३ रनको साझेदारी गरे । अमिनीले २२ रन बनाए । भाला ६ चौका र १ छक्काको मद्दतमा ९२ बलमा ६५ रन जोड्न सफल भए । उनी लिग टूमा सर्वाधिक रन जोड्ने सूचिको दोस्रो स्थानमा छन् ।

३६ खेलमा १२ सय ९० रन जोडेका उनी नामिबियाका गेरहार्ड इरासमस भन्दा ८ रनले पछि परे । राइली हेकुरेले २२ बलमा ३३ रनको इनिङ्स खेल्दा भनुवाले ३३ बलमा ४९ रन प्रहार गरे । हजरत बिलालले ४ विकेट लिए । जवाफि ब्याटिङ गरेको युएईले ३८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्यो ।

आर्यन लाक्रा ४ रनमा आउट भए । दोस्रो विकेटका लागि कप्तान मोहमद वासिम र भृत्या अरविन्दले १ सय २५ रनको साझेदारी गरे । भृत्या ३३ रनमा आउट भए । वासिमले ७७ बलमा १ सय १९ रनको शतकीय इनिङ्स खेले । उनले ६ चौका र १२ छक्का हिर्काए ।

आयन खानले २७ र सिपी रिजवानले २९ रनको अविजित इनिङ्स खेले । हेकुरेले दुई विकेट लिए । लिग टूको अन्तिम सिरिजमा युएईको यो पहिलो जित हो ।

सिरिजको अन्तिम खेलमा भोलि (बिहीबार) नेपाल र युएई खेल्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.