एसियन अन्डर ट्वान्टी-टु बक्सिङको फाइनलमा नेपालकी सुष्मा

माघ ८, २०७९ |कान्तिपुर टीभी संवाददाता
एसियन अन्डर ट्वान्टी-टु बक्सिङको फाइनलमा नेपालकी सुष्मा

काठमाडौं । नेपालकी सुष्मा तामाङ थाइल्यान्डमा जारी एसियन अन्डर ट्वान्टी-टु बक्सिङ च्याम्पियनसिपको फाइनल पुगेकी छन् । एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीले फाइनलमा स्थान बनाएको यो पहिलोपटक हो ।

महिला ४८ केजी तौल समूहमा सुष्माले मंगोलियाकी बेइ सेन बाइ जनारगुलीलाई पराजित गरिन् । रेफ्री स्टप कन्टेस्ट आर एस सीका आधारमा सुष्मा विजयी भएकी हुन् । पहिलो राउन्डमा सुष्माले ३-२ को अग्रता बनाएकी थिइन् । दोस्रो राउन्डमा ५-० को अग्रता बनाएकी सुष्मा विजयनजिक थिइन् ।

तर, तेस्रो राउन्डमा ५७ सेकेन्ड मात्र समय बाँकी रहँदा सुष्माको मुक्का प्रहारसँगै मंगोलियाकी जनारगुलीलाई रेफ्रीले प्रतिस्पर्धाका लागि अक्षम घोषित गरेका थिए । फाइनल पुगेसगै सुष्माले रजत पक्का गरेकी छन् ।

बक्सिङले ४६ वर्षको इतिहासमा प्राप्त गरेको यो सबैभन्दा ठूलो सफलता भएको संघका प्रवक्ता श्याम अवालेले जानकारी दिए । यसअघि एसियन गेम र अन्य च्याम्पियनसिपमा नेपालले कास्य जितेको थियो । सुष्माले फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फारजोनासग खेल्नेछिन् । प्रतियोगिताअन्तरर्गत आजै ५७ केजी तौल समूहमा नेपालकी हेमा राई भने म‌ंगोलियाकी बाटर जोरगार्गलसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिइन् ।

यसअघि ८६ केजी तौल समूहका विजय बाटा र ७५ केजी तौल समूहकी त्रिशा जबेगूले सेमिफाइनलमा स्थान सुरक्षित गर्दै कम्तिमा कास्य पक्का गरिसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.