कतार विश्वकप : नेदरल्यान्ड्सको विजयी सुरुवात, अमेरिका र वेल्सको बराबरी

मंसिर ६, २०७९
कतार विश्वकप : नेदरल्यान्ड्सको विजयी सुरुवात, अमेरिका र वेल्सको बराबरी

काठमाडौं । नेदरल्यान्ड्सले विश्वकप फुटबलमा सुखद सुरुवात गर्दा अमेरिका र वेल्सले बराबरी खेलेका छन् ।

दोहास्थित अल थुमामा स्टेडियममा सोमबार राति भएको खेलमा सेनेगललाई २ – ० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

नेदरल्यान्ड्सले खेलको दोस्रो हाफमा दुवै गोल गरेको हो । उसका लागि खेलको ८४ औँ मिनेटमा गाक्पोले फ्रान्की डी जोङको पासमा हेडमार्फत उत्कृष्ट गोल गरे । विश्वकपको डेब्यु खेलमा गाक्पोले गोल गर्न सफल भएका हुन् ।

खेलको इन्जुरी समयमा क्लासेनले दोस्रो गोल गर्दैै नेदरल्यान्ड्सलाई २ – ० को जित दिलाए । समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्सले जितसँगै ३ अंक जोडेको छ ।

यस्तै, मंगलबार बिहान भएको अर्को खेलमा सुरुवाती अग्रतालाई कायम राख्न नसक्दा अमेरिकाले वेल्ससँग बराबरीमा चित्त बुझाउनु प¥यो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा कप्तान ग्यारेथ बेलले गोल गर्दै अमेरिकासँग १ – १ को बराबरी गरेका हुन् ।

खेलको ३६ औँ मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएका थिए । विश्वकपमा उनको यो पहिलो गोल हो ।

तर, अमेरिकालाई कडा चुनौती दिएको वेल्सले खेलको ८२ औँ मिनेटमा पुनरागमन गर्न सफल भयो । अमेरिकाका वाल्कर जिमरम्यानले डी बक्स क्षेत्रभित्र बेललाई लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो । उक्त अवसरलाई सदुपयोग गर्दै बेलले गोल गरेपछि वेल्स हारबाट जोगिएको हो ।

यो बराबरीसँगै दुवै टिमले एक–एक अंक पाएका छन् । समूह ‘बी’ मा रहेको अमेरिका एक अंकसहित दोस्रो तथा वेल्स पनि एक अंकसहित तेस्रो स्थानमा छ । यो समूहमा इंग्ल्यान्ड विजयी सुरुवात गर्दै ३ अंकका साथ शीर्ष स्थानमा छ ।