दोहा । इक्वेडरले कतार विश्वकपमा सुखद सुरुवात गरेको छ ।
आइतबार राति भएको उद्घाटन खेलमा प्रतियोगिता आयोजक टोली कतारलाई २ - ० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
दोहास्थित अल बायत रंगशालामा भएको खेलमा इक्वेडरले पहिलो हाफमै २ - ० को अग्रता बनाएको थियो ।
तेस्रो मिनेटमै इक्वेडरका एनर भ्यालेन्सियाले हेडर गोल गरेका थिए । सुरुवातमा गोल भएपनि भीएआरको परीक्षणबाट अफसाइड दिइएको थियो । तर इक्वेडरले गोल गर्न धेरै समय भने लगाएन । १६ औं मिनेटमा इक्वेडरले पेनाल्टीमार्फत टिम र कतार विश्वकपकमा पहिलो गोल गर्यो । भ्यालेन्सियाले पेनाल्टीलाई गोलमा परिणत गरेका हुन् ।
३१ औं मिनेटमा उनैले उत्कृष्ट हेडर गोल गरेपछि घरेलु टोली कतार २- ० ले पछि परेको थियो । कतारले पहिलो हाफको इन्जुरी समयमा गोल फर्काउने सुनौलो अवसर गुमाएको थियो । दोस्रो हाफमा भने इक्वेडरले कतारलाई दबाबमा राखे पनि गोल गर्न भने सकेन ।
पहिलो खेलमै जित निकालेको समूह 'ए' मा रहेको इक्वेडरले ३ अंक जोडेको छ । कतार पराजयबाट विश्वकपको सुरुवात गर्ने पहिलो आयोजक राष्ट्र बनेको छ ।