
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र जुगल गाँउपालिकाका ज्येष्ठ नागरिकले मोतियाबिन्दुको सफल शल्यक्रियापछि आँखा देख्न थालेका छन् । लामो समयदेखि दृष्टि कमजोर भई आँखा नदेखेर दैनिक जीवनमा कठिनाइ भोग्दै आएका उनीहरू निशूल्क शल्यक्रिया उपचार पाएपछि पुनः उज्यालो देख्न पाउँदा खुशी भएका हुन् ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ५ चौताराका ६७ बर्षीय स्याङबो तामाङको पछिल्लो सात वर्ष कष्टपूर्ण रह्यो । आँखाको दृष्टि गुमेपछि उहाँको जीवन नै रोकिएकोजस्तो थियो । घर बाहिर भित्र गर्नका लागि घरमा एक जना मान्छे नुहँदा आफैँ हिँड्न खोज्दा उहाँ धेरै पटक लड्नुभयो । तर अहिले उहाँको आँखाको ज्योति फेरि फर्केको छ । दृष्टि फर्केपछि उहाँ निकै खुशी हुनुभएको छ ।
जुलग गाँउपालिका २ लिदीका ८७ वर्षीय दावा दोङलाई तीन वर्ष पहिलेदेखि नै आँखामा मोतिया बिन्दु भएको थियो । यसै त उमेरले नेटो काटेका उहाँलाई बुढेसकालमा आँखा देख्न पाउँछु भन्ने कल्पना पनि थिएन । चौतारा साँगाचोकगढी नगरपालिकाले आयोजना गरेको निःशुल्क मोतिया बिन्दु शिविरमा आएर शल्यक्रिया गराएपछि उहाँले उज्यालो संसार फेरी देख्न पाउनु भएको छ ।
शिविरमा आँखा उपचारका लागि आएका अधिकांश बिरामीमा मोतियाबिन्दु ढिलो पहिचान भई छिपिएको तथा जटिल अवस्थामा पुगेको पाइएको चिकित्सकहरूले बताएका छन् । समयमै उपचार नपाउँदा यहाँका स्थानीयका दृष्टि अत्यन्त कमजोर हुनुका साथै दैनिक जीवन प्रभावित भएको थियो । प्रारम्भिक चरणमै जाँच र उपचार गरिए मोतियाबिन्दुबाट हुने अन्धोपन रोक्न सफल भएको चिकित्सकको भनाई छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका अनुसार १४ ओटै वडा भित्ररहेका २० ओटा स्वास्थ्य सस्थामा निशुल्का आँखा जाँच शिविर सञ्चालन गरिएको हो । आँखा जाँच गरिएको एक हजार सात सय ७८ जनामध्ये छनौट गरिएका ८९ जना ज्येष्ठ नागरिक तथा दृष्टि समस्या भएका नागरिकलाई लक्षित गरी मोतीबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो ।
स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध हुन थालेपछि आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुँदै आएका ज्येष्ठ नागरिकलाई सहज भएको छ ।