बागमती गाउँपालिकाले दियो मिलेमतोमा ठेकेदारलाई नियमविपरित २७ लाख रुपैयाँ पेश्की

पेश्की लिएका ठेकेदार सम्झौता अनुसारको कामै नै नगरी बेपत्ता
जेष्ठ ३०, २०८२ |बालकृष्ण अधिकारी
बागमती गाउँपालिकाले दियो मिलेमतोमा ठेकेदारलाई नियमविपरित २७ लाख रुपैयाँ पेश्की

मकवानपुर । बागमती गाउँपालिकाले कर्मचारीसमेतको मिलेमतोमा ठेकेदारलाई नियमविपरित २७ लाख रुपैयाँ पेश्की रकम दिएको महालेखा परिक्षक कार्यालयको प्रतिबेदनले औल्याएको छ ।

गाउँपालिकाले गुरुकुल निर्माण सेवालाई बेलिबृज निर्माणका लागि पेश्की रकम उपलब्ध गराएको हो । पेश्की लिएका ठेकेदार सम्झौता अनुसारको कामै नै नगरी बेपत्ता भएको प्रतिबेदनमा उल्लेख छ । यस्तै पालिकाबाट जेष्ठ नागरिकलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्ता मृतकका नाममा समेत वितरण भएको महालेखाले निष्कर्ष निकालेको छ ।

गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणमा एक लाख एघार हजार रुपैयाँभन्दा बढी अनियमित खर्च गरेको प्रतिबेदनमा उल्लेख छ । गाउँपालिका बरिष्ठ लेखा अधिकृत झमक नारायण घलानले मृतकको लगत कट्टा गर्न ढिलाइ हुँदा समस्या देखिएको बताउनुभयो । यसरी बढी खर्च भएको रकम सम्बन्धित ब्यक्तिहरुबाट असुल उपर गर्न महालेखाले पालिकालाई निर्देशन दिएको छ । उपभोक्ता समितिबाट सरकारी भवन निर्माण कार्य गराउँदा २१ लाख ३ हजार ३१७ रुपैयाँ अनियमितता भएको भन्दै महालेखाले प्रश्न पठाएको छ ।

गाउँपालिकाले सभा सञ्चालन, बैठक, अतिथि सत्कारमा एकआर्थिक वर्षमा चिया–नास्ता अतिथि सत्कारमा १८ लाख १६ हजार ५०७ रुपैयाँ खर्च गरेको छ । यो खर्च पालिकाको आन्तरिक आम्दानीको करिब १२ दशमलब ३६ प्रतिशत हो । यस्तै स्वीकृत दरबन्दी बाहिरका अमिन, कृषि प्राविधिक, सह–इन्जिनियर लगायतका पदमा अनियमित तबरले करारमा १० जनालाई नियुक्त गरी ३५ लाख ८३ हजार ५५४ भुक्तानी दिईएकोमा समेत महालेखाले प्रश्न उठाएको छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।