खोटाङका नगरप्रमुख माइतीघरमा सत्याग्रहमा

श्रावण ११, २०८२ |मुरारी घिमिरे
खोटाङका नगरप्रमुख माइतीघरमा सत्याग्रहमा

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले काठमाडौंको माइतीघरमा सत्याग्रह थाल्नु भएको छ । स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै उहाँले आजदेखि सत्याग्रह सुरु गर्नुभएको हो ।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने उहाँको मुख्य माग छ । माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर उहाँले सत्याग्रह सुरु गर्नुभएको हो । आशोच बारेजसरी उहाँ परालको गुन्द्री माथि कम्बल ओछ्याएर बस्नुभएको छ । छेउँमा बाँसका भाटा राखिएका छन् । सरकारको ध्यानाकर्षण गराउन उहाँ माइतीघर मण्डलामा सत्याग्रहमा बस्नुभएको हो ।

उहाँले ‘पैसा छैन नीति देउ, आत्मनिर्भर समाज बनाऔं,’ ‘प्रकृतिको विनास हैन, संरक्षण गरौं,’ ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं,’ लगायतका नारा लेखिएका प्लेकार्ड पनि साथमा राख्नुभएको छ । उहाँलाई स्थानीय अगुवा र केही जनप्रतिनिधिहरुले पनि साथ दिएका छन् ।


Image

मुरारी घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।