काठमाडौं । सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा भएको त्रुटीबारे प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि नै छानबिन गर्नुपर्ने हुन सक्ने बताउनुभएको छ ।
आइतबार भट्टराईले फेसबुकमा स्ट्याटस लेखेर कुलिङ अफ पिरियडबारे दाहालले शनिबार दिएको अभिव्यक्तिको जबाफ दिँदै त्यसमा तलमाथि गरिएको विषयमा दाहालमाथि नै छानबिन गर्नुपर्ने हुनसक्ने बताउनुभएको हो । एमाले कुलिङ अफ पिरियड राख्नुपर्छ भन्ने अडानमा रहेको बरू प्रधानमन्त्री भएको समयमा दाहाल नै कुलिङ अफ पिरियडको पक्षमा नरहेको भट्टराईले दावी गर्नु भएको छ ।
'२०८० फागुन ११ गते संसदमा विधेयक दर्ता भएको बेला तपाई नै प्रम हुनुहुन्थ्यो र तपाईं कै अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यो विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिएको हो। जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन। यसले स्पष्ट गर्दछ कि तपाई कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन,' भट्टराईले फेसबुकमा लेख्नु भएको छ । विपक्षी बेन्चमा पुगेपछि दाहालमा एकाएक कुलिङ पिरियडको भूत जागेको विषयमा पनि भट्टराईले प्रश्न गर्नुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा दाहालले कुलिङ अफ पिरियडमा भएको हेरफेरमा एमालेको भूमिका रहेको प्रष्ट भएको बताउनुभएको थियो । त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि छानबिन गर्नुपर्ने दाहालले बताउनुभएको थियो ।