कांग्रेसमा मुख्यमन्त्री लामा र बानियाँको टकराबले बागमती प्रदेश सरकार विघटन उन्मुख

सहजीकरणका लागि केन्द्रले खटायो राजन केसीलाई प्रतिनिधि
श्रावण ११, २०८२ |बालकृष्ण अधिकारी
कांग्रेसमा मुख्यमन्त्री लामा र बानियाँको टकराबले बागमती प्रदेश सरकार विघटन उन्मुख

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र प्रदेश कार्यसमितिका सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँको व्यक्तिगत टकराबले प्रदेश सरकार विघटनको मुखमा पुगेको छ ।

प्रदेशको बजेटमा सत्तारूढ दलहरु कांग्रेस र एमालेमा असन्तुष्टि बढेको बेला मौका छोपी बानियाँले संसदीय दलको नेताबाट लामालाई हटाउन अविश्वासको प्रस्ताव नै दर्ता गराउनुभएको छ ।

कांग्रेस र एमालेबीच समीकरण बनेपछि बागमती प्रदेशमा लामाले सरकारको नेतृत्व सम्हाल्नु भएको थियो । बजेटमा अनियमितता गरेको भन्दै अहिले प्रदेश सरकारप्रति सत्तारूढ दलहरुमा असन्तुष्टि छ । यही मौकामा लामालाई दलको नेताबाट हटाएर आफू मुख्यमन्त्री हुने योजना बानियाँको छ । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रदेशमा दलको नेता हटाउने वा अरू कसैलाई बनाउने भन्नेबारे केन्द्रले हस्तक्षेप नगर्ने बताउनुभयो । उहाँले सहजीकरणका लागि केन्द्रले प्रतिनिधि मात्रै पठाउने र त्यसमा सांसद राजन केसीलाई पठाउने निर्णय भएको जानकारी समेत दिनुभयो ।

मुख्यमन्त्री लामाले शनिबार कांग्रेसका केन्द्रीय नेताहरुलाई भेटेर प्रदेशमा देखिएको विवाद समाधान गर्न आग्रह गर्नुभएको थियो । त्यसपछि केन्द्रीय सदस्यसमेत रहेका संघीय सांसद राजेन्द्र केसीलाई समन्वयका लागि प्रतिनिधि तोकिएको हो ।

नेपाली कांग्रेसबाट बागमती प्रदेशमा सहभागी चार मन्त्रीले शुक्रबार राजीनामा दिँदै संसदीय दलका नेता लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि कांग्रेसमा विवाद उत्पन्न भएको हो ।

यसैबीच मुख्यमन्त्री लामाले २१ जना प्रदेशसभा सदस्यले नेपाली कांग्रेस संसदीय दलको सचिवालयमा बुझाएको अविश्वास प्रस्तावको सामना गर्ने बताउनुभएको छ । मुख्यमन्त्री लामाले रिक्त भएका मन्त्रालयमा असन्तुष्ट प्रदेशसभा सदस्यलाई फकाएर मन्त्री दिने र सत्ता टिकाउने रणनीति बनाउनुभएको उहाँ निकट नेताहरुले बताएका छन् ।

बागमतीमा ३७ जना प्रदेश सभा सदस्य रहेको कांग्रेसको संसदीय दलको नेता बन्न १९ मत आवश्यक हुन्छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।