सप्तरीमा अदालतकाे फैसलाविपरीत घर भत्काउन विपन्न परिवारमाथि निर्घात कुटपिट

वैशाख २९, २०८२ |आरएन विश्वास
सप्तरीमा अदालतकाे फैसलाविपरीत घर भत्काउन विपन्न परिवारमाथि निर्घात कुटपिट

राजविराज । जग्गा सम्बन्धी विवादका कारण पटक-पटक छिमेकीबाट यातना भाग्दै आएकी सप्तरीको बोदे बरसाईन नगरपालिका-१, धनगढी महनाैरीकी सुजानदेवी यादवका दुई छाेरीमाथि फेरि निर्घात कुटपिट भएको छ ।

गत बुधबार सुजानदेवी घरमा नभएको मौकामा छिमेकीले छोरीहरु १६ वर्षीया अम्बिकाकुमारी र १४ वर्षीया ललिताकुमारीलाई कुटपिट गरेका हुन् । दुवै किशोरीकाे सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेकाे छ ।

जग्गा सम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतबाट फैसला पक्षमा आएदेखि नै आफूहरुमाथि छिमेकी रामचन्द्र मण्डलसहित उनका परिवारबाट पटक–पटक धाकधम्की र कुटपिट हुँदै आएको पीडित परिवारकाे गुनासो छ ।

कुटपिटबाट गम्भीर घाइते भएका दुवै छोरीलाई चिकित्सकले सिटी स्क्यान गराउन भने पनि अस्पतालमा उपकरण बिग्रिएकाले सिटी स्क्यान गराउन नपाएको सुजानदेवीले गुनासो गर्नुभयो । 

जग्गाकै निहुँमा छिमेकीहरु शम्भु मण्डलकी पत्नी सोमनीदेवी, उनकी छोरीहरु रम्भा र अनिता, स्व. मेदी मण्डलकी पत्नी गुजरीदेवी, बुहारी आरती र नाती राधिका तथा रामउद्गार र उनकी पत्नी लक्ष्मी मण्डलले छोरीहरुलाई कुटपिट गरेकाे सुजानदेवीकाे दाबी छ ।

२०७२ जेठ २६ गते सप्तरी जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले ८ धुर गाउँब्लक जग्गामा रहेकाे सुजानदेवीकाे घर पाताल भए वा उठाएर नलगेसम्म बादी शम्भु मण्डल र मेदी मण्डलको हक नलाग्ने ठहर गरेको थियो । उक्त फैसलापछि आफूहरुलाई विस्थापित गर्न पटक–पटक धाकधम्की दिने र कुटपिट गर्दै आएको सुजानदेवीको भनाइ छ ।

सप्तरीका एसपी ढकेन्द्र खतिवडाले कुटपिट गर्नेलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय बोदे बरसाईनलाई निर्देशन दिएको बताउनुभयाे ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।