बारा । मधेशमा दाइजो प्रथा र रवाफ देखाउने प्रवृत्तिले विवाह खर्चिलो बन्दै गएको छ । यस्तोमा बाराको करैयामाई गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका छोरीहरूको निशुल्क सामूहिक विवाह कार्यक्रमको सुरूवात गरेको छ । यो कार्यक्रमले समाजमा व्याप्त दाइजो र बालविवाहको कुप्रथा नियन्त्रण हुने विश्वास गरिएको छ ।
बाराको करैयामाई गाउँपालिका-२ मा रहेको राजदेवी मन्दिरको प्रांगणमा बिहिबार निकै भिडभाड थियो । यो भिड मेला, महोत्सव र जात्राको नभई गाउँपालिकाले आयोजना गरेको सामूहिक विवाह कार्यक्रम हेर्नेहरूको थियो । करैयामाई गाउँपालिकाले यसै आर्थिक वर्षदेखि गाउँपालिकामा बसोबास गर्ने आर्थिकरूपमा कमजोर परिवारका विवाह गर्ने उमेर पुगेका छोरीहरूको निशुल्करूपमा दाइजोरहित सामूहिक विवाह कार्यक्रमको सुरूवात गरेको छ ।
गाउापालिकाले विहीबार आयोजना गरेको सामूहिक विवाह कार्यक्रममा दुई जोडीको विवाह भयो । करैयामाई गाउँपालिका -१ हरैयाकासोकिल राय भाटकी २० वर्षीया छोरी आसमी खातुन र वडा नम्बर ५ ढोरियाका सुखल हजराकी २४ वर्षीया छोरी कुसुमकुमारी पासवानको सामूहिक विवाह गराइएको हो ।
गाउँपालिकाले विवाहका लागि आवश्यक बेहुला-बेहुलीको पोशाक, गहना, फर्निचर, खानपानलगायत सम्पूर्ण सामग्री व्यवस्थापन गरिदिएपछि अभिभावक खुसी भएका छन् ।
दुई जोडीको विवाह गराउँदा करिब ५ लाख रूपैयाँ खर्च लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले १५ औं गाउँसभाबाट समेटेको यो योजनामा हरेक वर्ष पालिकाले माघदेखि चैतसम्म सामूहिक विवाह गर्नेको निवेदन दर्ता गरेर सम्बन्धित वडाध्यक्षलाई अनुगमन गराउने र परिवार पहिचान गराउने छ । यस वर्ष २ जोडीको विवाह गरेको गाउँपालिकाले अर्काे आर्थिक वर्षमा कम्तिमा २० जोडिको विवाह गर्ने लक्ष्य राखेको छ ।
गाउँपालिकाले बारामा पहिलोपटक गरेको यो अभियानको चौतर्फी चर्चा भइरहेको छ । यो अभियानले समाजमा बढेको दाइजो प्रथा र बालविवाहजस्ता कुरीतिहरू नियन्त्रण हुने विश्वास छ ।
करैयामाई गाउँपालिकाले कमजोर आर्थिक अवस्था भएका परिवारका लागि सुरू गरेको यो सामूहिक विवाह कार्यक्रम उदाहरणीय देखिन्छ ।