कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरस्थित महाकाली नदीमा निर्माणाधीन गाइडबण्डको आइतबार स्थलगत अनुगमन गर्नुभएको छ ।
नेपाली सेनाको इञ्जिनियर टोलीद्वारा तीव्रगतिमा निर्माण भइरहेको गाइडबण्ड क्षेत्रको निरीक्षण गर्दै मन्त्री लेखकले निर्माणको गुणस्तर र प्रगतिप्रति चासो व्यक्त गर्नुभयो ।
सरकारले यस क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । त्यसैले नदी नियन्त्रण तथा संरक्षणका लागि सरकारले विशेष प्राथमिकतामा राखेर गाइडबण्ड निर्माण कार्य अघि बढाएको हो । मन्त्री लेखकले निर्माण कार्यमा संलग्न टोलीलाई निर्धारित समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो ।
स्थलगत अनुगमनका क्रममा मन्त्री लेखकसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान, स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिहरूको पनि उपस्थिति रह्यो ।
महाकाली नदीमा वर्षेनि आउने बाढीको जोखिम न्यूनीकरणका लागि गाइडबण्ड निर्माणलाई स्थानीयवासीहरूले अत्यन्तै स्वागतयोग्य कदमका रूपमा लिएका छन् ।