काभ्रे जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा, स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि

काभ्रे जिल्ला स्तरमै घोषण
असार २२, २०८२ |पुजन धिताल
काभ्रे जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा, स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि

काभ्रे । काभ्रे जिल्ला आइतबारबाट आधिकारिक रूपमा पुर्ण खोप सुनिश्चित जिल्ला घोषित गरिएको छ । जिल्लाभरका १३ वटै स्थानीय तहमा पुर्ण खोप सुनिश्चितता प्रक्रिया पूरा भएपछि, धुलिखेल नगर सभाहलमा आयोजित एक औपचारिक समारोहबीच काभ्रेलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय काभ्रे, स्थानीय तह, विभिन्न संघ/संस्था तथा समुदायको समन्वय, स्वामित्व, सहभागिता र स्थानीय स्रोतको भरपूर उपयोगमार्फत जिल्लाले यो उपलब्धि हासिल गरेको हो ।

“स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागिता-पुर्ण खोप सुनिश्चित जिल्ला हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ सञ्चालित अभियान अन्ततः सफल भएको छ ।

स्वास्थ्य क्षेत्रमा सार्वजनिक पहुँच विस्तार, रोग नियन्त्रण तथा दीगो स्वास्थ्य प्रणाली निर्माणतर्फ यो कदम महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ ।

समारोहमा सहभागीलाई स्वागत गर्दै जनस्वास्थ्य कार्यालय काभ्रेकी प्रमुख राग्य श्री कक्षपतिले जिल्लाको वस्तुगत अवस्था, प्रगति र समर्पणका पक्षहरू प्रस्तुत गर्नुभयो ।

घोषण समारोहलाई सम्बोधन गर्दै बाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र कुमार झाले भने, 'तेस्रो जिल्लाका रूपमा काभ्रेलाई घोषणा गरिएको हो । अब हामी बाँकी जिल्लाहरू पनि तयारी अवस्थामा राखेर प्रदेशस्तरीय घोषणा गर्ने लक्ष्यमा छौं ।'

उहाँले देशभर हाल १६ हजार खोप केन्द्रहरूमार्फत नियमित खोप सेवा सञ्चालन भइरहेको जानकारी दिँदै, खोपको खेर जाने दर घटाउन र सुनिश्चिततासँगै दिगोपनालाई कायम राख्न सबैमा अपिल गर्नुभयो ।

कार्यक्रममा जिल्लाभरका १३ वटै स्थानीय तहका खोप कार्यकर्ता, जनस्वास्थ्यकर्मीहरू तथा अन्य तीन जना स्वास्थ्य कर्मचारीलाई सम्मानसमेत गरिएको थियो ।

सभामा जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम, निर्देशक डा. झा, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सबै स्थानीय तहका स्वास्थ्य प्रमुखहरूको सक्रिय उपस्थिति रहेको थियो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।