बाँके । आर्थिक, शैक्षिक र स्वास्थ्य लगायत धेरै समस्याले जेलिँदाको कष्टकर अवस्थामा २०३५ सालमा मुगुबाट तराई झरेका मुगालीको जीवनशैलीमा आमूल परिवर्तन भएको छ । कच्ची र फुसका घरमा गुजार गर्नेहरू शानदार र पक्की घरमा ठाँटबाटका साथ बस्न थालेका छन् ।
चुरे फेदीको जंगल छेउको बस्ती भएकाले वातवरण पनि स्वच्छ र हराभरा देखिन्छ । नेपालगन्ज शहरदेखि करिब ४० किलोमिटर उत्तरपश्चिम बैजनाथपुर गाउँपालिका-१ मा पर्ने रारा बस्तीमा अहिले अशिक्षित भेटिँदैनन् । डाक्टर, इन्जिनियरसँगै बस्तीमा वकिल र शिक्षकको कमी छैन ।
बाँकेको रारा बस्तीको फाँटमा सबैतिर पाकेको गहुँ पहेंलै झुलेको देखिन्छ । मुगु खत्याडबाट तराई झर्नु भएकी जानकी बुढा भतिजीसँग काटेर मुठा पारेको गहुँको भारी बाँध्दै हुनुहुन्थ्यो । मुगु जस्तो हिमाली जिल्लामा अनिगिन्ती अभावसँगै दुःखकष्ट झेलिसक्नु भएकी जानकी गहुँबारीमा पसिना बगाउन पाउँदा प्रसन्न देखिनुहुन्थ्यो । जबकि उहाँले अधिया खेती गर्दै आउनुभएको छ ।
अर्काको जमिनमा यसरी पाखुरा खियाउँदा पनि धेरै सुखी र खुशी भएको बताउनु हुने जानकीको यो सुन्दर बस्तीमा एउटा पक्की घरसँगै सानो पसल पनि छ ।
मुगुको तत्कालीन रारा गाउँपञ्चायतका ३६५ परिवारलाई यो ठाउँमा स्थानान्तरण गराई खाली भएको क्षेत्र रारा राष्ट्रिय निकुञ्जमा गाभिएको थियो । त्यहाँबाट झरेका बासिन्दाले बस्तीमा पुरानो थातथलोको सम्झानमा रारा माध्यमिक विद्यालय सञ्चालन गरेका छन् । उतैबाट आउनुभएका मानबहादुर खत्री स्कुलको प्रधानाध्यपक र बहादुर शाह शिक्षक हुनुहुन्छ ।
मुगुमा अहिले पनि आलु, जौ र फापर खाएर गुजारा चलाउनु पर्ने अवस्था छ । तराई झरेका मुगाली त्यो अवस्थासँगै बिरामी हुँदा उपचार नै नपाई अकाल मृत्युवरण गर्नुपर्ने नियतिबाट मुक्त भएको बताउनुहुन्छ रारा बस्तीका स्वाथ्यकर्मी प्रेम शाह ।
विसं २०२० तिर चिनियाँ फौजसँग लड्न खम्पाहरू अवैध रूपमा अहिलेको कर्णाली प्रदेशको उत्तरी सीमा क्षेत्रतिर पनि प्रवेश गरेका थिए । नेपाली फौजले लखेट्दै हिल्सा पुर्याए लगतै दुई मुलुकबीचको सीमांकनका लागि खटिएका विज्ञहरूमध्ये ललितजंग शाही अहिले पनि यही रारा बस्तीमा रमाउँदै आउनुभएको छ ।
प्राकृतिक छटामा घुलमिल हुँदै र बस्दै आएका यी मुगाली चुरेको फेदीमा पर्ने बाँकेको तातो भूमिमा निर्माण भइरहेका वातानुकूलित भवनभित्र शितल अनुभूतिका साथ बस्दै आएका छन् ।