काठमाडौं । कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ पर्नुभएको छ।
बैंकको २ अर्ब ५० करोड रूपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शनिबार रूपन्देहीको बेलहियाबाट उहाँलाई पक्राउ गरेको हो।
बैंकमा रकम हिनामिनाको आरोप लागेपछि राय लामो समयदेखि फरार रहँदै आउनुभएको थियो। बैंकको रकम हिनामिना प्रकरणमा रायलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी चन्द्रकुबेर खापुङले जानकारी दिनुभयो।
२०६० सालमा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय ०७६ देखि ०७९सम्म सिईओका रूपमा कार्यरत रायले पटक-पटक सञ्चालक समितिको अध्यक्ष रहेर काम गर्नुभएको थियो। रायलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।
सल्यानका राय पछिल्लो समय बाँकेमा स्थायी रूपमा बसोबास गर्दै आउनुभएको थियो । बैंकमा हिनामिना भएको आरोप लागेपछि बैंकका सञ्चालक समिति अध्यक्ष ओमप्रकाश मिश्रको संयोजकत्वमा गत पुस ५ मा छानबिन समिति गठन भएको थियो।
समितिले अनियमिततामा रायसहितका व्यक्तिले १ अर्ब २६ करोड रूपैयाँभन्दा बढी हिनामिना गरेको र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउनुपर्ने राय दिएको थियो।