जुम्लाका युवा कोदो र फापरका परिकार बनाउन सिक्दै

जेष्ठ १८, २०८२ |डीबी बुढा
जुम्लाका युवा कोदो र फापरका परिकार बनाउन सिक्दै

जुम्ला । जुम्ला कनकासुन्दरी-५ कि निरमाया बुढा कोदो र फापरका परिकार बनाउने सीप सिक्न १० दिन अघि खलंगा झरिन् । सिकेको सीपलाई व्यवहारमा उतारेर फापर र कोदोका परिकार बनाएर बजारमा लैजाने सोचमा छिन उनी । 

आयतित खानेकुराले अहिले बजार लिइरहेको छ, उनले भनीन्, ‘अब हामीले सीप सिकेर जिल्लाका सबै बजारमा फापर र कोदोका परिकार पुर्‍याउन सक्नुपर्छ।’ कोदो र फापरको परिकार त्यहाँका स्थानीयको आम्दानीको राम्रो स्रोत बन्न सक्ने निरमायाको भनाइ छ ।

एप्पल गार्डेन होमस्टे चलाइरहकी निरमाया अहिले फापर र कोदोका परिकार बनाउन व्यस्त छिन । उनले भनिन्, ‘हाम्रो होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकहरू आइरहन्छन् । उनीहरूलाई कोदो र फापरका परिकारको चख्याउने धोको छ।’ कोदो र फापर एक त अर्गानिक बाली हुन् । त्यसैमा पनि त्यहीबालीबाट बन्ने परिकारले झनै महत्व राख्नेछन, उनले थपिन ।’

गुठिचौर गाउँपालिका-४ का एकराज खत्री फापर र कोदोका परिकार बनाउन हौसिएका छन । आफैले उत्पादन गरेको बालीबाट आफैले फरक-फरक परिकार बनाएर बजारमा लैजाने तयारीमा छन एकराज । निरमाया र एकराज प्रतिनिधि उदाहरण मात्रै हुन । उनी जस्तै जिल्लाको एक नगरपालिका र सात गाउँपालिकाका युवाहरूले फापर र कोदोका परिकार बनाउने सीप लिएका छन ।

फापरको केक, अण्डा मिक्स फापरको केक, केराको केक, कोदोको नमकिन, फापरको नमकिन, बिस्कुट, हलुवा, सिस्नुको बिस्कुट, कोदाको पाउरोटी केक, ब्रेड, कोदाको कपकेक बनाउन सिकेका एकराज भन्छन्, ‘हामी बेरोजगार भनिरहन्छौं । तर आफ्नै आगनमा फल्ने स्वादिला बालीहरूको परिकार बनाउन सकिरहेका छैनौ । यो दुःखद पक्ष हो।’ 

युवाहरूलाई गुठिचौर-३ का चित्रबहादुर बुढाले सीप सिकाएका थिए । विदेशका होटलहरूमा लामो समय काम गरेर गाउँ फर्किएका चित्र अहिले प्रशिक्षक बनेर सिकाइरहेका छन । 

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले फापर र कोदोका परिकार बनाउन सकेमा राम्रो फाइदा हुने बताउनुभयाे । उहाँले अब गाउँमा आउँदा कोदो र फापरका परिकार चाख्ना पाउनेमा जोड दिनुभयाे ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगीले फापर र कोदोका परिवारले रोजगारीको अनुभुती गराउने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘तपाइहरू परिकार बनाएर उद्यमी बन्नुस् । बजारको लागि हामी पहल गर्छौं ।’

उहाँले फापर र कोदोका परिकार बनाउन ६० हजार बराबरको सामाग्री दिने बताउनुभयाे । त्यहाँ उत्पादन हुने कृषि वस्तुबाट धेरै परिकार बनाउन सकिने अवस्था छ । यी परिकार बजारसम्म लैजादा किसान र व्यवसायी दुबैलाई उत्तिकै फाइदाजनक छ ।

उहाँले उद्योग दर्तादेखि परिकार बनाउने सामानहरू विशेष अनुदानमा उपलब्ध गराउने बताउनुभयाे । कर्णाली प्रदेश सरकारको एक जिल्ला एक उत्पादन सीप सहयोग कार्यक्रमले धेरै युवाहरट्ठ सीप सिकेर रोजागारी बन्ने बाटोमा अग्रसर हुने अपेक्षा गरिएको छ । जिल्लाका आठ स्थानीयतहका ६० वटै वडामा फापर र कोदोखेती हुने गरेको छ । 


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।