दोलखा । दोलखाको कहाली लाग्दो रिकुको भीरमा अब डोरीमा झुण्डिएर हिँड्नु पर्ने बाध्यता हटेको छ । यो भीरको निकै जोखिमयुक्त पहारमा २ मिटर चौडा बाटो बनेको हो । तर भीर छिचोल्ने क्रममा तुइनले काटेर एक जना मजदुरले दाहिने हातका दुई औंला गुमाउनुपर्यो ।
गएको फागुनमा भीर छिचोल्ने क्रममा तुइनका लठ्ठाले काट्दा रिकुका नेत्रबहादुर खड्काले दाँया हातको दुई औंला गुमाउनुभयो । अब भीर छिचोलिइसकेको छ । त्यसैले अब भीरमा नेत्रबहादुर भेटिनुहुँदैन । उहाँलाई गाउँमा भेट्दा औंला गुमाएको पीडा भन्दा रिकु जाने बाटो सहज बनेकोमा खुसी देखिनुहुन्थ्यो । औंला काटिएकोमा भन्दा भीरमा झुण्डिएर जोखिम मोल्नुपर्ने बाध्यता हटेकोमा नेत्रबहादुरलाई बढ्ता खुसी छ ।
६ महिनाअघिसम्म दोलखाको उत्तरी क्षेत्रको विगु र गौरीशंकर गाउापालिकाको रिकु गाउँ जाने कहालीलाग्दो यो भीरमा डोरीमा झुण्डिएर हिाड्नुपर्ने बाध्यता थियो । भीर छिचोलिसकिए पनि अझै कोपेर २ मिटर चौडा बाटो बनाउने क्रम भने जारी नै छ ।
भीर कोपेर बाटो बनाउनेहरू हिउँद बर्खा नभनी यही भीरमा रात काट्छन । सबैभन्दा जोखिम क्षेत्रको भीर छिचोलिसकिएको छ । यही भीर छिचोल्दा नेत्रबहादुरको औंला छिनियो, अर्का एक जना मजदुरको खुट्टा भााच्चियो ।
कहाली लाग्दो भीरको मुनि तामाकोशी नदी गड्गडाउँछ, माथितिर अजंगको पहाड । यही पहाडको बीचबाट माथिल्लो तामाकोशी जलविद्युत परियोजना अन्तर्गत तकै २२ मेगावाटको रोल्वालिङ जलविद्युत आयोजनाले रिकुका जनताको जनजीवन सहज बनाउन यो भीरमा बाटो बनाइदिएको हो ।