के रिंकु सदाले न्याय पाउलिन् ?

फाल्गुन २५, २०८१ |विनय आजाद
के रिंकु सदाले न्याय पाउलिन् ?

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित मुसहर बस्तीमा अधिकांशको घरमा शौचालय छैन । उनीहरु खेततिरै शौच गर्छन् । गत २७ गते साँझको साढे आठ बजिरहेको थियो । यो बस्तीभन्दा पनि सय मिटर पर कुनामा रहेको घरकी १७ वर्षीया किशोरी रिंकु सदा सधैंजस्तै शौच गर्न खेततिर निस्किइन् ।

तर, उनी लामो समयसम्म पनि फर्केर घर नआएपछि परिवारले खोजबिन सुरु गरे । रातभर खोज्दा पनि नभेटिएकी रिंकु भोलिपल्ट बिहान साढे ३ बजे मात्रै रुँदै घर आइपुगिन् । घर आइपुग्दा रिंकुको शरिरको कपडामा धुलोमाटो लागेको थियो । रातभर कहाँ गइन् रिंकु ? के भयो ? रिंकु निशब्द थिइन् ।

आमा सितादेवी सदाले बारम्बार सोधीखोजी गर्दा पनि रिंकुले केहि भन्न सकिनन् ।

तर रिंकुको मौनता केहि समयमा तोडियो ।

त्यसपछि एउटा विभत्स घटनाको पटाक्षेपमात्र हुँदैन, न्याय-निसाफमाथि हाम्रो समाजको भद्दा र घृणित श्रंखलाको सुरुवात हुन्छ ।

बिहान घाम झुल्किनुअघि घरमा अस्तव्यस्त शरिर र भयग्रस्त अनुहार लिएर पसेकी छोरी रिंकु सदाको मुखबाट कुनै जवाफ नपाएर आमा सितादेवी आलसतालसको स्थितिमा पुग्छिन् । तर विस्तारै रिंकुले आफ्नो पेट दुखिरहेको बताउँछिन् ।

खोतल्दै जाँदा रिंकुले बताउँछिन् कि राति सौचका लागि रिंकु घरबाहिर निस्किएपछि एक युवकले रिंकुलाई भेटाउँछ । रिंकु यस्तो अवस्थामा थिइन्, जुन अवस्थामा कसैले हेर्नु नै गलत हो । रिंकुले बताउँछिन् कि त्यो युवक गाउँकै रुपेश मण्डल हुन् । सुरुमा रुपेशले रिंकुलाई शारिरिक सम्पर्कको प्रस्ताव राख्छ । रिंकुले मान्दिनन् । रुपेशले कर गर्छ, रिंकुले मान्दिनन् । त्यसपछि रुपेश मण्डल बल प्रयोग गर्छ, तानेर लैजान्छ । थोरै पर रुपेश मण्डलका दुई साथीहरु पर्खिरहेका भेटिन्छन् । अब रुपेश मण्डललाई उनका साथीहरुले समेत साथ दिन्छन् । ति को थिए ?

रिंकु आमालाई बताउँछिन् कि ति पनि गाउँकै अरु दुई केटाहरु थिए – चन्दन साह र रामविनय मण्डल । तिनजना केटाहरु मिलेर रिंकुको मुख थुन्छन् र हातखुट्टा समातेर खेततिर लैजान्छन् । निरुपाय रिंकु त्यतिन्जेल सिथिल भइसक्छिन् । खेतमा पुर्‍याएर ३ जना केटाहरुले पालैपालो रिंकुमाथि कुकृत्य गर्छन् ।

रात बित्नै लाग्दा केटाहरुले रिंकुलाई त्यहिँ छोडेर हिँड्छन् । रिंकु थकित र गलित भएर उठ्छिन्, आफूलाई केहि समेट्छिन् र विस्तारै घर फर्किन्छिन् ।

हिम्मत जुटाएर आमालाई घटनाको वेलिबिस्तार त लगाउँछिन् तर उनलाई थाहा थिएन कि घटनाक्रम कसरी अघि बढ्छ ।

रात बित्यो । अग्राख पलायो । गाउँमा हल्लाखल्ला भयो । सदाको परिवार हारगुहार गर्छ । गाउँका बलिया-बाठाहरुकोमा पुग्छन् । तर रिंकुमाथि भएको अपराधलाई नै ढाकछोप गर्न लागि पर्छन् ।

त्यो घटना प्रहरी कार्यालयमा पुग्नुपर्ने थियो । प्रहरीले जबरजस्ती करणी गर्नेहरुलाई तत्काल नियन्त्रणमा लिनुपर्ने थियो । सबुत प्रमाण भेला पार्नु पर्ने थियो । अनुसन्धान मुताबिक र रिंकुकै बयानसमेतलाई आधार मानेर कानुनी कारबाही अघि बढ्नुपर्ने थियो । तर त्यसो भएन । दिनभर गाउँमा हल्लाखल्ला चल्यो । भद्र भलाद्मीहरु भनिएकाहरु नै घटनालाई सामसुम पार्नमा लागेपछि अर्को दिन अर्थात् २९ गते गाउँमा पञ्चायत बस्यो । पञ्चायतीका मुख्य व्यक्ति थिए स्थानीय सरकारमै प्रतिनिधित्व गर्ने वडा सदस्य नथुनी साह, रामकुमार मण्डल, रामकृपाल मण्डल, रामपृत साह, विन्देश्वर साह र अरु केहि ।

पञ्चायत भेलामा रिंकुलाई राखियो, रिंकुको परिवारलाई राखियो, रुपेश मण्डलका केहि आफन्तलाई पनि बोलाइयो । सबै गरेर करिब ३० जना भेला भए ।

त्यहाँ रिंकुलाई घटनाको बारेमा बयान गराइयो । रिंकुले घोप्टो मुख पारेर आफूमाथि रुपेश र उसका साथीहरुले गरेको अपराध सुनाउँछिन् । रिंकुका परिवार न्यायको लागि याचना गर्छन् । तर त्यो पञ्चायतको उद्देश्य रिंकु सदालाई न्याय दिलाउने थिएन, घटनामा मेलमिलाप गराउने थियो । पञ्चायतमा मुखिया बनेकाहरु गाउँको इज्जतको कुरा गर्छन्, रिंकुको भविष्यको हवाला दिँदै चेतावनीको भाषा बोल्छन् र रिंकुलाई रुपेश र उसका साथीहरुले क्षतिपूर्ति दिएर मेलमिलाप गर्नुपर्ने निष्कर्ष सुनाउँछन् । त्यो पञ्चायत निसाफको मोलमोलाइ गर्न थाल्छ ।

पञ्चायतीले आरोपितले एक लाख ५१ हजार रुपैयाँ रिंकुको परिवारलाई दिने र पीडितको परिवार प्रहरीमा नजाने निर्णय सुनाउँछ । तर रुपेशका आफन्तले त्यो रकम धेरै भएको गुनासो गर्छन् । पञ्च भलाद्मीहरुले फेरि केहिबेर मोलमोलाइ गरे । आखिरमा १ लाख ४० हजारमा कुरा मिलाए ।

तर, रिंकुको परिवार परिवार हुन्छ वा हुन्न नभनी त्यहाँबाट निस्किन्छ ।

भोलिपल्ट ३० गते बिहान आरोपित रुपेशका आफन्त रामपुकार मण्डल मृतककी काकी कागती देवीलाई लिएर रिंकुको घर पुगे । त्यहाँ उनीहरुले पनि पञ्चायत बैठकले गरेको फैसला मान्न धम्की दिए ।

यतिमात्र होइन, कागती देवीलाई रामपुकारले त्यो पैसाबाट ४० हजार आफूले लिने, ५० हजार पञ्चले लिने, २५ हजार मुसहरका अगुवाले लिने र २५ हजार पीडित परिवारले राख्ने र बढी बोले ठीक नहुने धम्की दिए । सोही दिन फेरि गाउँमा पञ्चायती बस्यो । आरोपितका आफन्तबीच पञ्चायतीमै पैसा तिर्ने विषयमा विवाद भयो ।

पीडित परिवार पञ्चायतीबाट निस्केर घर आए । अपरान्हतिर सीतालाई छोरी रिंकुलाई घरमै छाडेर टोलतिर निस्किइन् । जब सात बजे घर आइन्, रिंकु घरकै छानोमा झुन्डिरहेकी थिइन् । सीताका अनुसार, रिंकु घरमा झुन्डिरहँदा ढोकाको चुकुल बाहिरबाट लागेको थियो । सीता भन्छिन्, ‘कि त मेरो छोरीलाई कसैले झुन्ड्याइदियो वा पीडक पक्षको धम्कीका कारण उनी झुन्डिइन् ।’

किशोरीको मृत्युपछि भोलिपल्ट मुसहरका अगुवासहित आफन्तहरु जाहेरी लिएर इलाका प्रहरी कार्यालय, लहान पुगे । उनीहरुले आरोपित रूपेश, चन्दन र रामविनय तथा धम्की दिने रामपुकार मण्डलविरुद्ध जबरजस्ती करणी तथा आत्महत्या दुरुत्साहनको जाहेरी तयार गरेर प्रहरीलाई दिए । तर, पीडितले लिएको जाहेरी लिएर अनुसन्धान गर्नुपर्ने प्रहरीले जाहेरी लिनै इन्कार गर्यो ।

मुद्दा फाँटका प्रहरीले मुद्दामा धेरै जनाको नाम भएको र कम गरेर ल्याउन भन्यो । त्यसपछि उनीहरुले अपहरण तथा बलात्कारका आरोपित रुपेश र धम्की दिने रामपुकारविरुद्ध जाहेरी दिए । त्यसपछि पनि जाहेरी दर्ता भएन । जाहेरी लेख्ने ठाउँमा प्रहरी आफै आए । अनि एकजना रुपेश मण्डलविरुद्ध मात्रै आत्महत्या दुरुत्साहनमा जाहेरी लेखाएर दर्ता गर्यो ।

यो घटनाको विवरण र प्रहरीको लापरवाहीको कुरा सञ्चारमाध्यममा आयो । त्यसपछि मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा घटनाको छानबिन समिति गठन गर्यो । यससँगै प्रहरीले पीडित परिवारसँग पूरक जाहेरी पनि माग्यो । पीडित परिवारले करणीमा संलग्न ३ जना तथा पञ्चायतीमा संलग्न मुख्य ५ जना गरी ८ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणी, मिलापत्र लेनदेन र कर्तव्य ज्यान गरी चार शिर्षकमा पूरक जाहेरी दिएका छन् ।

प्रहरीले आठै जनाविरुद्ध पक्राउ पुर्जी लिएर उनीहरुको खोजतलास गरिरहेको छ । छानबिन समितिका संयोजक कोइरालाका अनुसार, उनीहरुको खोजीमा इलाका, जिल्ला र प्रदेशका गरी तीन वटा छुट्टाछुट्टै टोली खटिएका छन् । तर, प्रहरीले उनीहरुलाई अहिलेसम्म पक्राउ गर्न सफल हुन सकेको छैन । पञ्चायतीमा संलग्न देखिएका अन्य तीन स्थानीय चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दासलाई भने प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यतिमात्र होइन, घटनापछि पनि पीडक पक्षको निरन्तर धम्कीका कारण पीडित परिवार घरबाट नै विस्थापित हुन पुगेका थिए । कान्तिपुरले उनीहरु डर र त्रासले आफ्नो घर छाडेर आफन्तकहाँ बसिरहेको भन्ने समाचार सार्वजनिक गरेपछि बल्ल प्रहरी उनको घर पुग्यो, अनि सम्झाइबुझाइ गर्दै घर फर्काएको छ ।

यो घटना सार्वजनिक भएदेखि नै देशव्यापी रुपमा विभिन्न स्थानमा सरकार र सरकारी संयन्त्रको विरोध अनि रिंकुको न्यायका लागि प्रदर्शनहरु हुँदै आएका छन् । हुलाकी सडक केन्द्रीत जनजागरण अभियानमा रहेका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार पार्टीका शीर्ष नेताहरुसहित रिंकुको घर नै पुगे ।

रिंकुको घटनाबारे जानकारी लिएर परिवारलाई न्याय दिलाउने आश्वासन दिँदै उनी त्यहाँबाट फर्किए । सोही दिन दाहालले सिरहा सदरमुकाममा सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डित, सशस्त्र प्रहरी प्रमुख नरेश भण्डारीलगायतलाई भेट्दै घटनाको सूक्ष्म छानबिन गर्न आग्रह पनि गरे ।

तर, सरकार भने घटनाको झण्डै तीन साता हुनै लाग्दा आलोचना र दबाबपछि बल्ल बोलेको छ । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सभामा बोल्दै यो घटनाका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । रिंकुको मृत्युमा सामूहिक जबर्जस्ती करणको घटना र त्यसपछि बसेको पञ्चायतीको घटनाक्रम जोडिएकोले यसको सूक्ष्म अनुसन्धान भइरहेको दाबी उनले गरेका छन् ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement