काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले कुलिङ पिरियडमा भएको शब्दको चलखेल सुविचारित तरिकाले गरिएको षड्यन्त्र भएको बताउनुभएको छ ।
सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुख्यसचिव र महासचिवको नेतृत्वमा राष्ट्रिय सभा र प्रतिनिधि सभामा जुन देउसी खेलिएको पृष्ठभूमिबाट यो स्पष्ट हुने बताउनु भयो ।
राज्य व्यवस्थामा सैद्धान्तिक र राजनीतिक रूपमा समझदारी कायम भएपछि समितिको बैठक नबोलाइकन राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले प्रतिवेदन बुझाउनुभएको बताउनु भयो ।
यो सुविचारित षड्यन्त्र भएको र यो संसद्माथिको गम्भीर अपराध भएको उहाँले बताउनु भयो । नैतिक रूपमा समितिको सभापति र सचिवले राजीनामा दिनुपर्ने उहाँकाे भनाइ छ। उच्चस्तरीय वा संसदीय छानबिन समिति बनाएर कारबाही गर्नुपर्ने उहाँले बताउनु भयो ।
उहाँले छानबिनको अवस्था नबनेसम्म राज्य व्यवस्था समितिको बैठक बस्न नसक्ने उहाँकाे भनाइ छ। सरकारले फागुन २०८० मा संसद्मा दर्ता गराएको विधेयकमा ‘संवैधानिक, कुटनीतिक नियुक्ति वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नेपाल सरकारको पूर्वस्वीकृति नलिई सेवा निवृत्त भएको मितिले दुई वर्षसम्म काम गर्नु नहुने’ व्यवस्था थियो ।
यो प्रवन्धले संवैधानिक र राजनीतिक नियुक्तिमा कुनै अवरोध थिएन । सरकारीबाहेक निजी तथा गैरसरकारी संस्थामा नियुक्ति लिन मात्र सरकारको स्वीकृति चाहिने उद्देश्य राखिएको थियो ।
समितिबाट पारित भएको विधेयकमा संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेक भन्ने शब्द नराखिएको तर प्रतिनिधि सभामा पुग्दाबाहेक भन्ने शब्द राखेको पाएकाले प्रश्न उठेको छ ।