काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कार्यपालिका र व्यवस्थापिकाको बीचमा द्वन्द्व सिर्जना हुनु नहुने बताउनुभएको छ ।
सिंहदरबारमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । कुलिङ पिरियडका कारण अहिले कार्यपालिका र व्यवस्थापिकाबीच द्वन्द्वको अवस्था सिर्जना भइरहेकाले सभामुख देवराज घिमिरेलाई यसमा गम्भीर बन्न उहाँले आग्रह गरेको बताउनु भयो ।
कुलिङ पिरियड २ वर्ष हुने भनेर सर्वसम्मतिले पारित गरेको विषयमा समिति सचिवालय, कानून मन्त्रालय र संघीय मामिला मन्त्रालयको जालझेलबाट कुलिङ पिरियडमा चलखेल भएको बताउनु भयो । चलखेल गर्नेहरूमाथि कारबाही हुनुपर्ने उहाँकाे भनाइ छ।
सरकारले फागुन २०८० मा संसद्मा दर्ता गराएको विधेयकमा ‘संवैधानिक, कुटनीतिक नियुक्ति वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नेपाल सरकारको पूर्वस्वीकृति नलिई सेवा निवृत्त भएको मितिले दुई वर्षसम्म काम गर्नु नहुने’ व्यवस्था थियो ।
यो प्रवन्धले संवैधानिक र राजनीतिक नियुक्तिमा कुनै अवरोध थिएन । सरकारीबाहेक निजी तथा गैरसरकारी संस्थामा नियुक्ति लिन मात्र सरकारको स्वीकृति चाहिने उद्देश्य राखिएको थियो ।
समितिबाट पारित भएको विधेयकमा संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेक भन्ने शब्द नराखिएको तर प्रतिनिधि सभामा पुग्दाबाहेक भन्ने शब्द राखेको पाएकाले प्रश्न उठेको छ ।