ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणविरुद्ध चर्कियो आन्दोलन, प्रहरीसँग झडप, १८ जना घाइते

माघ १३, २०८१ |आनन्द गौतम
ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणविरुद्ध चर्कियो आन्दोलन, प्रहरीसँग झडप, १८ जना घाइते

ताप्लेजुङ । पाथीभरा क्षेत्रमा 'नो केबलकार' पक्षधर र प्रहरीबीचत झडप हुँदा १८ जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा एक किलोमिटरमाथि रहेको बलुडाँडामा दुई पक्षबीच हिजो दिउँसो र साँझ झडप भएको हो ।

झडपमा १३ जना सुरक्षाकर्मी र आन्दोलनरत पक्षका पाँच जना घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पाथीभरा माता केबलकार कम्पनीले केबलकार निर्माण प्रक्रिया अघि बढाएदेखि नै मुक्लुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समितिलगायतले विरोध गरिरहेका छन् । कम्पनीले मंगलबार केबलकार निर्माणस्थलमा जमिन सम्याउन थालेपछि प्रदर्शनकारी पाथीभरा क्षेत्रमा केन्द्रित भएका थिए । 

हिजो दिउँसो भएको झडपमा तीन जना सशस्त्र प्रहरी र आन्दोलनरत पक्षका एक जना घाइते भएका थिए । साँझ फेरि झडप हुँदा थप घाइते भएका हुन् । दुवैपटक प्रहरीले गोली चलाएको आन्दोलनकारीको दाबी छ । साँझको झडपमा प्रहरीले गोली चलाउँदा आन्दोलनरत पक्षका ३ जनालाई गोली लागेको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनरत पक्षका अगुवा श्री लिखिमले अरु पनि घाइते भएको तर रातको समय भएकाले यकिन हुन नसकेको जानकारी दिनुभयो । शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा प्रहरीले दमन गरेको लिखिमको भनाइ छ ।

प्रहरीतर्फ घाइते हुनेमा जवानदेखि इन्स्पेक्टरसम्म १३ जना रहेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । आन्दोलनकारीले हतियार लुकाएर राखेको सूचना पाएपछि दिउँसो ४ बजेतिर खोजीमा गएको प्रहरीलाई माथिबाट ढुंगा र गुलेलीले हानिएको जिल्ला प्रशासन कार्यालयले दाबी गरेको छ । आन्दोलनकारीबाट खुकुरी, गुलेलीलगायतका सामान बरामद गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । माथिल्लो फेदी क्षेत्रमा बसेर आन्दोलनकारीले गलत हर्कत गरेको शर्माको भनाइ छ । प्रहरीले उनीहरुलाई तितरबितर पार्न सुरुमा अश्रुग्यास प्रहार गरेको थियो ।

२०७४ सालदेखि पाथीभरामा केबलकार बनाउन नहुने भनेर आन्दोलन हुँदै आएको छ । उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले तीन अर्बको लागतमा काफ्लेपाटीदेखि पाथिभरा मन्दिरसम्म २ दशमलव ७ किलोमिटर केबलकार निर्माण गर्न अनुमति लिनुभएको छ । पाथीभरा मुक्कुमलुङ लिम्बूहरुको मुन्धुमीस्थल भएकाले केबलकार नबनाउन र यो क्षेत्रलाई प्राकृतिक रुपमै राख्न आन्दोलनरत पक्षले माग गर्दै आएका छन् ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement