सिरहामा मोटरसाइकलले छोएको निहुँमा विवाद : युवकमाथि खुकुरी प्रहार, तीन जना पक्राउ

वैशाख १९, २०८२ |विनय आजाद
सिरहामा मोटरसाइकलले छोएको निहुँमा विवाद : युवकमाथि खुकुरी प्रहार, तीन जना पक्राउ

सिरहा । सिरहामा एक युवकमाथि खुकुरी प्रहार भएको छ । लहान नगरपालिका ३ स्थित दंग्राहा टोलमा मोटरसाइकलले छोएको निहुँमा विवाद हुँदा स्थानीय २७ वर्षीय देवकुमार महतोमाथि खुकुरी प्रहार भएको हो ।

प्रहरीका अनुसार, यो घटना गत बुधबारको हो । स्थानीय जिवछ महतोका छोरा २१ वर्षीय मनिष महतोले चलाइरहेको मोटरसाइकलले स्थानीय नथुनी महतोका छोरा देवकुमारलाई छोएपछि विवाद भएको थियो ।

अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक समूहले देवकुमारमाथि कुटपिट गरिरहेको र एक जनाले खुकुरी प्रहार गरिरहेको देखिन्छ । उक्त भिडियोमा देवकुमारमाथि कुटपिट र खुकुरी प्रहार गर्नेहरु जिवछकै परिवारका सदस्य भएको प्रहरीले जनाएको छ ।

यस घटनामा संलग्न तीन जना अहिले प्रहरी हिरासतमा छन् । पीडित पक्षबाट आएको ज्यान मार्ने उद्योगको जाहेरीका आधारमा जिवछसहित उनकी श्रीमती ६० वर्षीया सीतादेवी महतो र छोरा मनिषलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, लहानका डीएसपी कैलाश राईले जानकारी दिनुभयो ।

तर, खुकुरी प्रहार गर्ने जिवछका छोरा १९ वर्षीय मुकेश महतो भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । यता, कुटपिट तथा खुकुरी प्रहारबाट घाइते भएका देवकुमारको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार, उनको टाउको, घाँटी, ढाडसहित शरीरका विभिन्न भागहरुमा चोट लागेको छ । उनको स्वास्थ्यवस्था भने खतरामुक्त भइसकेको प्रहरीले जनाएको छ ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।