नेवार समुदायले यसरी मनाए सांस्कृतिक पर्व हरिमन्दी

कार्तिक ३०, २०८१ |नारायण किलम्बू
नेवार समुदायले यसरी मनाए सांस्कृतिक पर्व हरिमन्दी

काठमाडौं । नेवार समुदायले आज कृषिमा आधारित सांस्कृतिक पर्व हरिमन्दी मनाएका छन् । नयाँ अन्न, गेडागुडी र कन्दमुलले देवीदेवताका आकृति बनाएर यो पर्व मनाउने गरिन्छ । विशेष गरी यो पर्व काठमाडौं उपत्यकाका नेवार समुदायमा लोकप्रिय छ । 

हरेक वर्ष कात्तिक शुल्क पूर्णिमा अर्थात् सकिमना पुन्हीका दिन नेवार समुदायले हरिमन्दी पर्व मनाउने गर्छन् । यो दिन नयाँ अन्न, गेडागुडी र कन्दमुल प्रयोग गरी विभिन्न मठ मन्दिर अगाडि देवीदेवताका कलात्मक आकृति बनाउने गरिन्छ । नयाँ उत्पादन भएको धानको लाभा, गहुँ, भकै, भटमाससहितका गेडागुडी भुटेर विभिन्न देवीदेवताका आकृति टोलटोल र मन्दिरअगाडि बनाउने गरिन्छ । यस्ता आकृतिको चारैतिर रोटी, सखरखण्ड, पीडालु जस्ता कन्दमूल र फलफूल राखेर थप कलात्मक बनाइन्छ । नेपाल भाषामा यसलाई नसा ब्वयगु भनिन्छ ।

जाडोयाम शुरु भएसँगै कन्दमुल खाँदा तागत दिने र स्वास्थ्य राम्रो हुने धार्मिक मान्यता छ । यो दिन देवीदेवताप्रति भक्तिभावपूर्वक मन्दिर परिसरमा दाफा भजन गाउने चलन छ । दाफा भजनकीर्तनसहित पूजा सकेपछि टोल छिमेकीलाई प्रसादका रुपमा वितरणसमेत गर्ने गरिन्छ ।

आदिवासी रैथाने किसानले सकिमिला पुन्हीसँगै हरिमन्दी पर्व मनाउने परम्परा छ । चन्द्रमाको गतिका आधारमा नेवार समुदायले यस्ता चाडपर्व तथा जात्रा मनाउने गर्दछन् ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement