जुम्लाको लुममा बनेको काठेपुल, सुविधाभन्दा जोखिम ज्यादा

भाद्र १९, २०८१ |डीबी बुढा
जुम्लाको लुममा बनेको काठेपुल, सुविधाभन्दा जोखिम ज्यादा

जुम्ला । पुल बनाउनुको पहिलो उद्देश्य आवागमन सहज हुनुपर्ने हो । तर, जुम्लाको पातारासी-४ लुममा बनेको काठको पुल धरापजस्तो छ । स्थानीयलाई यही पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

गत बुधवार सदरमुकाम खलंगाबाट पातारासी-२ तल्फीगाउँ जाँदै गरेको मोटरसाइकल लुमस्थित काठको पुलबाट खस्दा बेपत्ता भएका हरिकृष्ण बुढाको एक सातापछि मात्रै शव भेटियो । पुलसम्मै भेल आएकाले मोटरसाइकल चिप्लिएको थियो । पुलसम्मै भेल आउने समस्या त छँदैछ त्यसमाथि पुलमा लगाइएका काठ कुहिएर प्वाल परेर आवतजातव जोखिमपूर्ण बनेको छ ।

पातारासी-४ जुम्लाका कमानसिंह नेपाली अहिलेसम्म यो पुलमा तीन वटा ठूला दुर्घटना भइसकेको बताउनु हुन्छ । नेपालीले भन्नुभयो, 'तर, समयमै थाहा पाएकाले पहिलो दुईवटा दुर्घटनामा मानवीय क्षति हुनबाट रोक्न सकियो ।' 

पातारासीकै छविलाल खड्का भन्नुहुन्छ, 'सवारीसाधन आउजाउ गर्दा पुल हल्लिन्छ । काठका फड्के च्यातिन्छन् । सवारीसाधनका टायर प्वालहरुमा फस्दा उकास्न कठिन हुन्छ । पुलको वारीपारीका बारसमेत छैनन् ।'

यो पुल हुँदै पातारासी हिमालको आधारशिवर जाने पर्यटक, संसारकै अग्लो ठाउँमा फल्ने कालीमार्सी धानका फाँट अवलोकन गर्नेहरुदेखि शंकर झरनाको अवलोकन गर्न जाने आन्तरिक तथा वाह्यय पर्यटक आउजाउ गर्छन् । यही पुल भएरै उनीहरुका जीप, बस तथा बाइक वारपार हुने भएकाले जोखिम झन् बढेको छ ।

पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोरा भने पक्की पुलको माग भइरहे पनि बजेट नपरेका कारण बनाउन नसकिएको जवाफ दिनुहुन्छ ।

पक्की पुल बनाइदिएर सुरक्षित रुपमा आवतजावत गर्न पाउने अधिकार सुनिश्चित गरिदिन स्थानीयले गरेको माग कहिले पूरा हुने हो, अन्योल छ ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement