विषाक्त खानाका कारण बाराको सिम्रौनगढमा एकै परिवारका तीन बालबालिकाको मृत्यु

श्रावण २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
विषाक्त खानाका कारण बाराको सिम्रौनगढमा एकै परिवारका तीन बालबालिकाको मृत्यु

बारा । विषाक्त खानाका कारण बाराको सिम्रौनगढ नगरपालिकामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।

सिम्रौनगढ नगरपालिका ७ झवानी टोलका नरेश रामको परिवारले विषाक्त खाना खाँदा दुईजना छोरी र एकजना छोरासहित तीनजनाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । 

शनिबार साँझ भारतबाट माछा बेच्न आएका व्यापारीसँग किनेको माछा पकाएर खाँदा तीन जनाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । शनिबार राति खाना खाएलगत्तै नरेश रामका छोरीहरू ९ वर्षीया लालिमा र ७ वर्षीया पुष्पा तथा ५ वर्षका छोरा कृष्णनन्दनलाई पेट दुख्ने, बान्ता हुने र झाडापखालाको समस्या देखिएको थियो । 

उपचारका लागि सिम्रौनगढ स्वास्थ्यचौकी लगिएकोमा अवस्था गम्भीर रहेको भन्दै प्रादेशिक अस्पताल कलैया पठाइएको थियो । अस्पताल पुग्नुअघि नै ९ वर्षीया लालिमाको मृत्यु भयो भने दुईजना बालबालिकाको अवस्था थप जटिल भएपछि कलैया अस्पतालले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा पठाएको थियो । 

उपचारको क्रममा सोमवार राति पुष्पा र कृष्णनन्दनको समेत मृत्यु भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement