यसरी समापन भयो एक महिनासम्म मनाइने गुँला पर्व

भाद्र १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
यसरी समापन भयो एक महिनासम्म मनाइने गुँला पर्व

काठमाडौं । नेवार समुदायका बौद्ध धर्मावलम्बीहरुले एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर यो पर्व मनाउने गुँला पर्व आज विधिवत रुपमा समापन गरिएको छ ।

एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गरी मनाएको गुँला पर्व आज विधिवत रुपमा बाजागाजासहित पूजा गरी समापन भएको हो । यो पर्व चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइन्छ ।

काठमाडौं उपत्यकाका विभिन्न भागबाट गुँला बाजा बजाएर बिहान नै स्वयम्भू पुग्ने गरिन्छ । गुँला पर्वका अवसरमा विभिन्न बौद्ध विहारमा दीपङ्कर बुद्ध, बुद्धका अन्य सामग्री प्रदर्शन गरिन्छ । यस अवसरमा विभिन्न बौद्ध विहारमा पञ्चरक्षा, प्रज्ञापारमिता पाठ गरिन्छ । गुँला पर्वको अन्तिम दिन आज विधिपूर्वक विशेष पूजा आराधना गरी एक महिने ब्रत समापन गरिन्छ ।

यस समुदायले बजाउने परम्परागत धाःबाजा, नेकुबाजा, दमोखीं तथा अन्य सांस्कृतिक गाजाबाजा बजाउँदै विभिन्न चैत्यको परिक्रमा गर्दा मनमा शान्ति तथा एकापसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भइ पूण्य लाभ हुने जनविश्वास छ । तस्बिर : श्री सिद्धि गणेद्यो दाफा भजन खल:को आयोजनामा गरेको गुँला पर्व ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement