बचत फिर्ता नहुँदा रकम अभावले बिरामीको मृत्यु भएको भन्दै काठमाडौंमा शवसहित सहकारी पीडितको प्रदर्शन

श्रावण २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
बचत फिर्ता नहुँदा रकम अभावले बिरामीको मृत्यु भएको भन्दै काठमाडौंमा शवसहित सहकारी पीडितको प्रदर्शन

काठमाडौं । सहकारीमा राखेको आफ्नै बचत फिर्ता नपाउँदा रकम अभावले बिरामीको मृत्यु भएको भन्दै पीडितहरुले आज काठमाडौंमा शवसहित प्रदर्शन गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शनिबार बिहान निधन भएका ८० वर्षीय राजेन्द्र स्थापितको शवसहित प्रदर्शन गरेको हो । ब्रेन ह्यामरेजपछि वीर अस्पताल पुर्‍याइएका स्थापितको उपचारका लागि ५ लाख रुपैयाँ नहुँदा शनिबार निधन भएको आफन्तहरुले जनाएका छन् । स्थापितले न्युरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थामा १ करोड ३६ लाख रुपैयाँ राखेको र उपचारका लागि बचत झिक्न नपाएको महासंघका अध्यक्ष कुशलव केसीले बताउनुभयो। 

डाक्टरसमेतको उपस्थितिमा सहकारीका अध्यक्षले रकम दिने प्रतिबद्धता जनाए पनि नपाएको र चार दिनसम्म उपचार नभएका कारण स्थापितको निधन भएको आफन्तले जनाएका छन् । मृतकका परिवारलाई राज्यले जिम्मेवारी लिनुपर्ने पीडितहरुको माग छ ।

सहकारीपीडितहरुले बचत फिर्ताको माग गर्दै गत जेठ ११ गतेदेखि रिले अनशन पनि गरिरहेका छन् ।

यसैबीच, सहकारी छानविन संसदीय विशेष समितिले आज सुमेरु सहकारीका पूर्वअध्यक्ष कृष्ण कँडेलसँग बयान लिएको छ । समितिले सुमेरु सहकारीका पदाधिकारीहरुलाई आज बयानमा बोलाएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement