नागरिक उन्मुक्ति पार्टीद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

असार २२, २०८२ |अमर क्षितिज भण्डारी
नागरिक उन्मुक्ति पार्टीद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

दाङ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संसदीय दलका नेता धर्मबहादुर चौधरीले पार्टी केन्द्रको निर्णय अनुसार नै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी दिनुभयो ।

दलका नेता चौधरीले लुम्बिनी प्रदेशमा नीति तथा कार्यक्रम र बजेट निमार्णका समयमा सरकारसँग भएका सम्झौताहरू पालना नभएको, बजेटमा मनोमानी गरेको र विभिन्न समयमा भएका सर्वदलीय बैठकका निर्णय कार्यान्वयन नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभयो ।

लुम्बिनी प्रदेश सभा नागरिक उन्मुक्ति पार्टीका दुई प्रत्यक्ष निर्वाचित र दुई समानुपातिक गरी चार जना प्रदेश सभा सदस्य छन् ।

२०८१ साउन ७ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिँदा ७० जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका थिए । तर अहिले भने सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने सांसदहरूको संख्या थपिँदै जान थालेको छ । यसअघि जसपा नेपालका १, लोकतान्त्रिक समाजवादीका ३ र नागरिक उन्मुक्ति पार्टीका ४ गरी ८ प्रदेश सभा सदस्यले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।