किवी खेती बन्यो सल्यानका किसानको मुख्य आम्दानी

श्रावण २०, २०८३ |सरिता चलाउने
किवी खेती बन्यो सल्यानका किसानको मुख्य आम्दानी

सल्यान । सल्यानका लेकाली तथा ग्रामीण क्षेत्रका किसान पछिल्लो समय परम्परागत खेती छाडेर नगदे बाली किवी खेतीतर्फ आकर्षित हुँदै गएका छन् । 

अनुकूल हावापानी, सरकारी सहयोग र प्राविधिक ज्ञानका कारण किवी खेती किसानको मुख्य रोजाइ बन्दै गएको छ । जिल्लामा किवी खेतीबाट वार्षिक दुई करोड रुपैयाँभन्दा बढी आम्दानी हुन थालेपछि युवा पुस्तासमेत यस व्यवसायमा जोडिन थालेका हुन् ।

एक दशकअघि द्वन्द्वको पीडाले विस्थापित बनेको छत्रेश्वरी गाउँपालिका–२ गुराँसे अहिले किवी खेतीका कारण नयाँ पहिचान बनाइरहेको छ । कुनै बेला युद्धका कारण गाउँ नै सुनसान बनेको यो बस्ती अहिले हरियाली किवी बगैंचाले भरिएको छ । 

गुराँसेका ६० भन्दा बढी घरपरिवार अहिले व्यावसायिक किवी खेतीमा संलग्न छन् । सुरुमा एक–दुई किसानले परीक्षणका रूपमा थालेको खेती अहिले गाउँकै मुख्य आम्दानीको आधार बनेको छ । यहाँका किसानले वार्षिक तीन लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् ।

पहिले मकै, कोदो, गहुँलगायत परम्परागत बाली लगाउने किसानले अहिले व्यावसायिक रूपमा किवी खेती गर्न थालेका हुन् । कृषि विकास कार्यालय र स्थानीय तहबाट उपलब्ध गराइएका बिरुवा, अनुदान, तालिम तथा प्राविधिक सहयोगले किसानलाई थप हौसला दिएको छ । 

विदेशबाट फर्किएका युवा तथा कृषि विषय अध्ययन गरेका युवासमेत अहिले किवी खेतीमा सक्रिय देखिन्छन् । बजारमा किवीको माग राम्रो हुनु, उचित मूल्य पाइने अपेक्षा र सानो क्षेत्रफलबाट पनि राम्रो आम्दानी गर्न सकिने सम्भावनाले जिल्लाका विभिन्न पालिकामा किवी खेती विस्तार हुँदै गएको छ ।

सल्यानमा २०६९ सालदेखि किवी खेतीको सुरुवात गरिएको थियो । अहिले नयाँ बगैंचा स्थापना गर्ने क्रम बढ्दै गएको छ भने पुराना बोटको व्यवस्थापनमा पनि किसानले विशेष ध्यान दिन थालेका छन् । कृषि प्राविधिकहरू खेतबारीमै पुगेर काँटछाँट, मल व्यवस्थापन, रोग–कीरा नियन्त्रण र उत्पादन प्रविधिबारे नियमित परामर्श दिइरहेका छन् । 

हाल जिल्लाका विभिन्न स्थानमा करिब ३१ हेक्टर क्षेत्रफलमा किवी खेती विस्तार भएको छ । वार्षिक २५० मेट्रिक टनभन्दा बढी उत्पादन हुँदै आएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । अन्य फलफूलको तुलनामा किवी खेती गर्न अपेक्षाकृत सहज हुनुका साथै वन्यजन्तुको क्षति पनि कम हुने भएकाले किसानको आकर्षण बढ्दै गएको छ । 

उत्पादन बढेसँगै बजारीकरण, प्रशोधन र शीत भण्डारणको प्रभावकारी व्यवस्था गर्न सके सल्यान किवी उत्पादनको प्रमुख जिल्लाका रूपमा स्थापित हुने विश्वास गरिएको छ ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।