
कञ्चनपुर । कञ्चनपुरमा हुलाकी राजमार्ग सञ्चालन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बिचबाट पार हुन्छ ।
जहाँ दैनिक एक हजारभन्दा बढी यात्रु ओहोरदोहोर गर्छन् । तर, करिब १५ किलोमिटर खण्डमा मोबाइल फोनले काम गर्दैन । निकुञ्जको अन्य क्षेत्रमा पनि मोबाइलमा नेटवर्क आउँदैन । केही दिनअघि १७ जना महिला निकुञ्जभित्र सम्पर्कविहीन भएको घटनाले यो समस्यालाई फेरि सतहमा ल्याएको छ ।
३०५ वर्ग किलोमिटरमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बिच भाग भएर करिब १५ किलोमिटर लामो हुलाकी राजमार्ग आरपार हुन्छ । यही सडक हुँदै हरेक दिन एक हजारभन्दा बढी यात्रु ओहोरदोहोर गर्छन् । तर, यहाँ मोबाइल नेटवर्क भने पूर्णरूपमा अवरुद्ध हुन्छ ।
मोबाइल नचाल्दा सुरक्षा जोखिम बढेको छ । दिनको समयमा दुर्घटना वा वन्यजन्तुसँग जम्काभेट भए अन्य यात्रुले देखेर निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनालाई खबर गर्न सक्छन् । तर, रातमा दुर्घटना वा अन्य आपत् परे घटनाबारे अर्को दिन मात्रै थाहा हुने बाध्यता छ ।
मध्यवर्ती क्षेत्रका बासिन्दा कहिलेकाहीँ अनुमति लिएर, कहिलेकाहीँ अनुमति नलिइ च्याउ, निउरो टिप्न वा घाँसदाउरा ल्याउन जंगल पस्ने गर्छन् । बाटो बिराए जंगलमा हरायो भने मोबाइलले काम नगर्दा आफन्त वा सुरक्षाकर्मीलाई खबर गर्नसक्ने अवस्था रहँदैन ।
केही दिनअघि च्याउ टिप्न गएका १७ जना महिला निकुञ्जभित्रै सम्पर्कविहीन भए । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, निकुञ्ज प्रशासन, स्थानीयवासी, ड्रोन र निकुञ्जका ९ वटा पालुवा हात्ती परिचालन गरेर करिब २६ घण्टापछि मात्रै उनीहरूलाई फेला पारियो ।
मोबाइल चल्थ्यो भने उनीहरूको अवस्था तत्काल थाहा पाउन सकिने र उद्धार छिटो हुन सक्थ्यो । मोबाइल नेटवर्क नहुँदा निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको नेपाली सेनाको नियमित कामकाजमा समेत समस्या छ । आपत्कालीन उद्धार, वन्यजन्तुको निगरानी र सुरक्षा व्यवस्थापनमा प्रभाव पर्ने भएकाले यसको दीर्घकालीन समाधान आवश्यक देखिएको छ ।
१७ जना महिला एकै पटक सम्पर्कविहीन भएको घटनालाई जिल्ला प्रशासन कार्यालयले पनि गम्भीररूपमा लिएको छ । पछिल्ला घटनाहरुले सञ्चार सेवाको अभाव सामान्य पूर्वाधारको समस्या मात्र नभइ प्रत्यक्षरूपमा नागरिकको जीवन सुरक्षासँग जोडिएको विषय भएको स्पष्ट पारेको छ ।
त्यसैले निकुञ्ज क्षेत्रको संवेदनशीलता कायम राख्दै सुरक्षित र भरपर्दो सञ्चार सेवा विस्तार अविलम्ब गर्नुपर्ने देखिन्छ ।