पश्चिम नवलपरासीको सुस्ताका किसान व्यावसायिक केरा खेतीमा

आम्दानी बढेसँगै जीवनस्तरमा सुधार
श्रावण २०, २०८३ |अमृता अनमोल
पश्चिम नवलपरासीको सुस्ताका किसान व्यावसायिक केरा खेतीमा

नवलपरासी पश्चिम । परस्परागत रूपमा केरा खेती गरिरहेका नवलपरासी पश्चिमका केरा किसान अहिले आधुनिक खेतीतर्फ आकर्षित छन् । 

उन्नत बीउ र व्यवसायिक खेती प्रविधिमार्फत कम लागतमा धेरै केरा फलाउन थालेका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गतको केरा जोनले यस्तो सिकाएपछि किसानको आम्दानी समेत बढेको छ ।

चार वर्षअघिसम्म नवलपरासी पश्चिमका व्यवसायिक केरा किसानलाई बेच्नु नै सबैभन्दा ठूलो चुनौती थियो । न मिहिनेतअनुसारको उत्पादन हुन्थ्यो न त लागतअनुसारको मूल्यमा बिक्री । अहिले अवस्था फेरिएको छ। परम्परागत किसान आधुनिक र व्यवसायिक किसान बनेका छन् । 

कम लागतमा उन्नत जातका स्वादिला केरा फलाएका छन् । यसले स्वदेशी केराको माग बढाएको छ । किसानले खेतबारीबाटै प्रतिकिलो ७० देखि ८० रुपैयाँमा केरा बेच्न थालेका छन् । बुटवल बजार पुर्याउँदा प्रतिकिलो एकसय रुपैयाँसम्म पार्न थालेकाे छ । किनभने नवलपरासी पश्चिमको धेरै केरा बुटवलको थोक बजारबाट देशका अन्य सहरमा पुग्छ ।

केरा यहाँका किसानको परिवर्तनको प्रमुख आधार बनेको छ । यहाँ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालित छ केरा जोन । आर्थिक वर्ष २०७८/७९ देखि प्रतापपुर र सुस्ता गाउँपालिकाका सात वडामा सञ्चालनमा रहेको यो कार्यक्रमले आधुनिक खेती, प्राविधिक सहयोग, कृषि उपकरण र बजार व्यवस्थापनमा सहयोग गर्दै आएको छ। 

केरा जानेको प्रभावले केरा उत्पादन बढेको छ । किसानको आम्दानी पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। सरकारले विदेशी केराको आयातमा कडाइ गरेपछि नेपाली केराको बजार अझ बलियो बनेको किसानहरूको अनुभव छ ।

केरा खेतीको अर्को चुनौती थियो गुणस्तरीय बिरुवाको अभाव। अहिले नेपालमै टिस्यू कल्चर प्रविधिबाट उत्पादन भएका बिरुवा किसानलाई उपलब्ध गराउन थालिएको छ। यसले स्वस्थ बिरुवा, राम्रो उत्पादन र दीर्घकालीन खेतीमा टेवा पुर्याउने छ । 

अहिले केराको बजार विस्तार र बहुउपयोगबारे पनि किसानले सिकीरहेका छन् । केराबाट चिप्स, ममलगायतका परिकार उत्पादन गर्ने उद्योग खोल्ने र केराको ग्रेडिङ, प्याकेजिङ र ब्रान्डिङमा पनि काम भएको छ।

केरा जोनले केरा खेतीलाई व्यवसायिक बनाउँदै किसानको आम्दानी बढाइदिएको छ। यही कारण पछिल्ला पाँच वर्षमा नवलपरासी पश्चिममा केरा जोन ९ सय ४० हेक्टर क्षेत्रफलमा विस्तार भएको छ।

एकातिर भारतीय केराको दबाब घट्दै जाँदा नेपाली केराले बजारमा राम्रो मूल्य पाएको छ। आधुनिक प्रविधि, सरकारी सहयोग र बढ्दो बजार मागसँगै नवलपरासी पश्चिमका किसानका लागि केरा खेती अब जीविकोपार्जन मात्र होइन, राम्रो आम्दानीको भरपर्दो माध्यम बन्दै गएको छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।