खडेरी र अतिवृष्टिको दोहोरो मार, कृषि प्रणाली नै प्रभावित

जेष्ठ २, २०८३ |सुमन पन्थ
खडेरी र अतिवृष्टिको दोहोरो मार, कृषि प्रणाली नै प्रभावित

काठमाडौं । कतै लामो खडेरी, कतै अतिवृष्टि । जलवायु परिवर्तनले मौसमी प्रणालीमा फेरबदल ल्याउँदा कृषिका लागि आकाशे पानीको भरपर्नुपर्ने अवस्थाका नेपाजलस्ता मुलुकको कृषि प्रणाली र बाली चक्रमा असर पर्न थालेको छ । 

कुनै बेला लामो समयसम्म पानी नपर्ने र परेको बेला छोटो समयमा धेरै पानी पर्ने प्रवृत्ति बढेको छ भने हिउँदमा समेत कम चिसो हुने र हिउँ पर्ने मात्रामा कमी आउँदा हिउँदे बालीसमेत प्रभावित भएको छ । यस्तो अवस्थामा जलवायु परिवर्तनअनुकूलको खेतीपद्धति विकास गर्न विज्ञले सुझाव दिएका छन् । 

नेपालमा जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि हामीले के गरिरहेका छौं ? 

वैशाख बित्नै लाग्दा पनि पानी नपरेपछि धानको ब्याड राख्न नपाउँदा बर्दियाको पूर्वीक्षेत्रका किसान चिन्तामा छन् । जबकि जिल्लामा गत वर्ष यो काम ९० प्रतिशत सकिएको थियो । मकै पाकेर थन्क्याउने बेला बेमौसमी परेको पानीले उब्जनी नै नष्ट हुँदा किसान थप मारमा छन्।

कतै लामो खडेरी, कतै अतिवृष्टिले किसान हैरान छन्। यसले गर्दा रोपाईं पनि ढिला हुने र धान भित्र्याउने बेला वर्षा हुने गर्दा उत्पादन नै घट्ने गरेको किसानहरुको भनाइ छ । हिमाली जिल्ला हुम्लामा पनि यो वर्ष मंसिरदेखि फागुनसम्मै पर्याप्त हिउँ परेन, जसका कारण जौ, गहुँ, उवाजस्ता हिमालका मुख्य खाद्यान्न सप्रिएनन् । तर, तुलानात्मक रुपमा उच्च तापक्रममा उत्पादन हुने कोदो काक्रो जस्ता बाली हिमाली जिल्लाका हुन थालेका छन् ।

अनुसन्धाताहरू यसलाई जलवायु परिवर्तनको असर मान्छन्। परम्परागत मौसमी चक्रलाई नै आधार मानेर खेती गर्दै आएका कृषकलाई जलवायु परिवर्तनको असरले बालीनालीमा परिरहेको प्रभावका बारेमा बुझाउनुपर्ने छ। नेपाल कृषि अनुसन्धान परिषद्-नार्क किसानलाई यसबारे नियमित रुपमा जानकारी दिने गरेको बताउँछ ।

तर, नार्कले जारी गर्ने पूर्वसूचना सबै किसानको पहुाचमा भने पुग्न सकिरहेको छैन। जलवायु परिवर्तनको बालीनालीमा परिरहेको असर कम गर्न के गर्ने ? नार्कले जलवायु परिवर्तनसाग जुध्न सक्ने बीउबिजनको विकास गरिरहेको छ। हाल धान, गहुँ, मकै, फापर, लगायतका मुख्य खाद्यान्न बालीका लागि जलवायु परिवर्तन अनुकुलित बीउ तयार छन्। तिनको प्रयोग बढाउन नार्कको सुझाव छ।

नार्कका अनुसार धान, मकैजस्ता बालीका यस्ता बीउको विकास भएको छ जसले खडेरी र डुबान दुबै दुबै झेल्न सक्छ र उत्पादनमा पनि कम मात्रै प्रभाव पछ। यस्ता बीउको प्रयोगबारे धेरै किसानलाई भने जानकारी पुग्न सकेको छैन। कार्यकारी निर्देशक श्रेष्ठ भन्नुहुन्छ, मौसमी चक्रमा आएको परिवर्तनअनुसार नै बाली चक्र अपनाउन किसान तयार हुनुपर्छ।’ यो वर्षको मनसुनमा औसतभन्दा कम वर्षा हुने अनुमानका कारण पनि किसान यसपटक थप चनाखो हुनुपर्ने छ। 

दक्षिण एसियाका मौसमविद्हरुले मध्ये जेठदेखि असोजसम्म औसतभन्दा कम पानी पर्ने अनुमान गरेका छन्। कम वर्षा हुने प्रक्षेपणबारे किसानहरुलाई कृषि मन्त्रालय र नार्कले जानकारी त गराएको छ, तर यो अझै पर्याप्त छैन। जलवायु परिवर्तनको असर खेतीमा मात्रै नभइ पशुपालनमा समेत पर्न थालेको छ । 

अन्तर्राष्ट्रिय लाइभस्टक रिसर्च इन्सिच्यूटका अनुसार मधेशका भैंसीमा उत्पादन क्षमता कम भइरहेको पाइएको छ, जसको मार दुध उत्पादन तथा मासुमा परिरहेको छ । इसिमोड र राष्टसंघीय कृषि तथा खाद्य संगठनका अध्ययन अनुसार नेपालमा जलवायु परिवर्तनका कारण वार्षिक १० देखि १५ अर्ब रूपैयाँ बराबरको आर्थिक क्षति भइरहेको छ ।

वर्षा प्रणालीमा आएको अस्वाभाविक परिवर्तन, मल अभाव, सिँचाई तथा कमजोर पूर्वाधारको असर उत्पादनमा पर्दा खाद्य सुरक्षामै गहिरो प्रभाव पार्ने देखिन्छ । यसका लागि ठोस नीतिगत पहल नै गर्नुपर्ने छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।