किमाथांका सडक सञ्जालमा जोडियाे

जेष्ठ २, २०८३ |दीपेन्द्र शाक्य
किमाथांका सडक सञ्जालमा जोडियाे

संखुवासभा । संखुवासभाको दुर्गम हिमाली भोटखोला क्षेत्रको चीन सीमा नजिक किमाथांका सडक सञ्जालमा जोडिएको छ। 

उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत मोरङको जोगवनीदेखि किमाथांकासम्मको ३ सय ५७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो । सडक हस्तान्तरण भएको तीन दिनपछि खाद्यान्न बोकेका तीनवटा ट्याक्टर पहिलो पटक किमाथांकासम्म पुगेका छन्।

भोटखोलाको च्याम्ताङदेखि घोङ्गप्पाको भीर छिचोलिएपछि जिल्ला सदरमुकाम खाँदबारीबाट हिँडेको सवारी पहिलो पटक किमाथांका गाउँ पुगेको हो। पहिलो पटक गाउँसम्म ट्याक्टर पुगेपछि स्थानीयबासी उत्साहित बनेका छन्। ट्याक्टर चालक, एक्स्काभेटर चालक तथा किमाथांका सडक अभियानसँग सम्बन्धित टोलीलाई स्थानीयले भव्य स्वागत गरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाड्छेदर भोटेले बताउनुभयो । 

वर्षौंदेखिको सडक सपना पूरा हुँदा स्थानीयले खुसीयाली मनाएका छन्। खाँदबारी–किमाथांका १ सय ५७ किलोमिटर तथा खाँदबारी–जोगवनी २ सय किलोमिटर सडक तयार भएको उत्तर–दक्षिण कोशी सडक योजनाले जनाएको छ। हाल खाँदबारीसम्म २ सय किलोमिटर कालोपत्र सडक सञ्चालनमा छ । 

खाँदबारीदेखि नूमसम्मको ३९ किलोमिटर सडक कालोपत्र गर्ने काम तीव्र गतिमा भइरहेको छ। नुमभन्दा माथिल्लो क्षेत्रमा कच्ची सडक निर्माण सम्पन्न भइसकेको योजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिनुभयो । सडक निर्माणको सबैभन्दा चुनौतीपूर्ण खण्ड मानिएको भोटखोला गाउँपालिका क्षेत्रमा नेपाली सेनाले च्याम्ताङदेखि घोङ्गप्पासम्म सडक निर्माण गरेको थियो । 

वैशाख २८ मा सेनाले उक्त सडक योजनालाई हस्तान्तरण गरेको थियो।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।