एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखक थुनामुक्त

चैत्र २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखक थुनामुक्त

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक १३ दिनपछि थुनामुक्त हुनुभएको छ ।

सर्वोच्च अदालतको परमादेश अनुसार अनुसन्धानमा सघाउने गरी ओली र लेखकलाई प्रहरीले हाजिरी जमानीमा थुनामुक्त गरेको हो । ओलीलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

सर्वोच्च अदालतले चैत २३ गते ओली र लेखकमाथिको अनुसन्धान २६ गतेभित्र टुंग्याउन आदेश दिएको थियो । सर्वोच्चले आजसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो। प्रहरीले पूरक बयान र अनुसन्धानमा सहयोग गर्ने सर्तमा कागज गराएर छाडिएको प्रहरीले जनाएको छ । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको दमनबारे अनुसन्धान गर्न उहाँहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको सिफारिसपछि रास्वपा नेतृत्वमा नयाँ सरकार गठन भएसँगै ओली र लेखकलाई अनुसन्धान गर्ने भन्दै प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गर्दै उहाँहरूलाई पक्राउ गरेको थियो ।

यसैबीच अध्यक्ष ओलीको सोमबार पित्तथैलीको शल्यक्रिया गरिने भएको छ। चिकित्सकहरुका अनुसार ओलीको स्वास्थ्य अवस्था स्थिर भएकाले सोमबारका लागि शल्यक्रियाको तयारी गरिएको हो । उपचार प्रक्रिया पूरा भएपछि मात्र उहाँ अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.