
काठमाडौं । सरकार र सत्तारूढ दलका शीर्ष नेताहरू नै सदनमा सहभागी नहुँदा सत्तारूढ दलकै सांसदहरूले असन्तुष्टि जनाएका छन् ।
सभाको बुधबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिक्षा बास्कोटाले संसद्को पहिलो ‘रो’मा रहेका खाली कुर्सी देख्दा लोकतन्त्रमाथि प्रहार भइरहेको अनुभूति भइरहेको भन्दै टिप्पणी गर्नुभयो ।
उहाँले लोकतान्त्रिक व्यवस्था कमजोर बनाउन राज्यका संस्थाहरूलाई कमजोर बनाउने इतिहासदेखिको परिपार्टी दोहोरिन थालेको आशंका समेत व्यक्त गर्नुभयो । उहाँले संसद् मा सरकारको कमजोर उपस्थितिले कतै हामी लोकतन्त्रलाई गिज्याइरहेका त छैनौँ ? प्रश्न गर्नुभयो ।
जारी बैठकमा प्रधानमन्त्री बालेन्द्र साहलगायत मन्त्रीको न्यून उपस्थिति छ । प्रतिपक्षी बेन्चको अघिल्लो ‘रो’ समेत खाली छ । बास्कोटाले भन्नुभयो, ‘विगत ३५ वर्षदेखि यो देशमा लोकतन्त्रमाथि निरन्तर प्रहार हुँदै आएको छ । हामीले बिर्सन सक्दैनौँ । भनिन्छ लोकतन्त्रमाथि प्रहार गर्न धेरै केही गर्नै पर्दैन । राज्यका संस्थाहरूलाई कमजोर बनाए पुग्छ । आज अग्रभागमा देखिएका खाली कुर्सीहरू देख्दा यो सम्मानित संसद् भवन र लोकतन्त्रमाथि प्रहार हुन लागेको हो कि जस्तो लागेको छ । र, कतै हामी लोकतन्त्रलाई गिज्याउन लोगका त होइनौँ भन्ने अनुभूति भइरहेको छ ।’
उहाँले संसद् र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास नगर्न सबैको ध्यानाकर्षण समेत गराउनु भयो ।