पाँचसय जनाविरूद्धको उजुरीलाई अविलम्ब टुंगोमा पुर्‍याउने कांग्रेसकाे निर्णय

चैत्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
पाँचसय जनाविरूद्धको उजुरीलाई अविलम्ब टुंगोमा पुर्‍याउने कांग्रेसकाे निर्णय

काठमाडौं । नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोप लागेका पाँचसय सात जनाविरूद्धको उजुरीलाई अविलम्ब टुंगोमा पुर्‍याउने निर्णय गरेको छ ।

बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले अनुशासन उल्लंघनको आरोप लागेका ५ सय ७ उजुरीहरुबारे अध्ययन गरी चाँडै टुंगोमा पुर्याउने निर्णय गरेको हो । बैठकमा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रस्ताव भएका, पार्टी उम्मेदवारविरुद्ध प्रचारप्रसारमा प्रत्यक्ष उम्मेदवार भएका, उम्मेदवारविरुद्ध विपक्षीलाई अप्रत्यक्ष सहयोग गरेका, पार्टीलाई मत नमागी मौन बसेका र कांग्रेसबाट निर्वाचित भई विपक्षीलाई सहयोग गरेका पार्टीका नेताहरूलाई गरिने कारबाहीका विषयमा छलफल भएको थियो ।

छानबिनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लंघन गरिएको आरोप लागेका व्यक्तिलाई सात दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ । यसैगरी अनुशासन समितिले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सचेत गराउने निर्णय गरेको छ ।

यता, असन्तुष्ट पक्षले बुधबार दोस्रो दिन पनि छलफल गरेको छ । पार्टीको आधिकारिता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेको देउवा–कोइराला समूहले आगामी दिनको रणनीति तय गर्न छलफल गरेको हो । काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा बसेको बैठकमा १४औं केन्द्रीय कार्यसमितिमा रहेका यो समूहमा भएकाहरू सहभागी थिए । बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि सहभागी हुनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.