अनधिकृत रूपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई कांग्रेसको निर्देशन

चैत्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
अनधिकृत रूपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्कालाई अनधिकृत रूपमा वक्तव्यबाजी नगर्न सचेत गराएको छ ।

बुधबार पार्टी मुख्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले नेता खड्काले चैत्र १४ गते कार्यवाहक सभापतिको हैसियतमा नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत रूपमा वक्तव्य जारी गरेको निष्कर्ष निकाल्दै आइन्दा त्यसो नगर्न सचेत गराएको हो । 

नेता खड्काले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोध गर्दै कार्यवाहक सभापतिको रूपमा वक्तव्य जारी गर्नुभएको थियो । त्यो कार्य अनधिकृत भएकाले त्यसो नगर्न नेता खड्कालाई सचेत गराउने निर्णय गरिएको समितिका संयोजक तारामान गुरुङले जानकारी दिनुभयो । 

उहाँले त्यस्ता खालका गतिविधि तत्काल बन्द नभए पार्टीको विधान र प्रचलित कानुन बमोजिम पार्टीका जो कोही नेतालाई पनि कारबाही गरिने चेतावनी समेत दिनु भयो । बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरूले अनुशासन उलंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्त भित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाउन पनि सिंगो पार्टी पक्तिलाई निर्देशन दिएको छ ।

अनुशासन समितिले निर्वाचनको पार्टीको अनुशासन विपरितका गतिविधि गरेकाहरुलाई सात दिनभित्र स्पष्टीकरण दिन पनि निर्देश गरेको छ । निर्वाचनको क्रममा पार्टीको हित विपरीत लागेका भनिएकाहरूलाई स्पष्टिीकरण दिन सो समय दिइएको पनि संयोजक गुरूङले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.