जेन-जी आन्दोलनको प्रतिवेदनमाथि कांग्रेसले समिति बनाएर अध्ययन गर्ने

चैत्र १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलनको प्रतिवेदनमाथि कांग्रेसले समिति बनाएर अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले जेन–जी आन्दोलनको घटनाबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको टिप्पणी गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले प्रतिवेदनले घटनाक्रमको पूर्ण चित्र प्रस्तुत गर्न नसकेको बताउनुभयो । 

प्रतिवेदनले २३ भदौको जेन–जी आन्दोलनबारे केही प्रकाश पार्ने प्रयास गरे पनि २४ गतेका घटनाहरूलाई स्पष्ट रूपमा समेट्न नसकेको उहाँले बताउनुभयो । चालिसेले प्रतिवेदनको विस्तृत अध्ययन गर्न कानुनविद्, प्रशासनका जानकार, जेन–जी आन्दोलनका अभियन्ता तथा विज्ञहरू सम्मिलित समिति गठन गरिएको जानकारीसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रतिवेदनलाई हामी सिरियस्ली हेर्छौं । हामी प्रतिवेदनबारे धारणा बनाउनको लागि कानुनका ज्ञाता तथा प्रशासनमा दक्षता भएका व्यक्तिहरू, जेन-जी आन्दोलनका अभियान्ताहरू र विज्ञहरूको समिति बनाएर यसको अध्ययन गर्छौं ।”

उक्त समितिले अध्ययन गरिसकेपछि जाँचबुझ आयोग र राष्ट्रिय मानवअधिकार आयोगका प्रतिवेदनबारे पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.