
काठमाडौँ । हालै सम्पन्न निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले औपचारिक रूपमा सपथ ग्रहण गरेका छन् । यसपटक ९० प्रतिशत सांसद नयाँ छन् । जो पहिलो पटक भूमिका पाएर संसद प्रवेश गरेका छन् । पहिलो पटक सांसद चुनिएपछि उत्साह र जिम्मेवारी बोध भएकले जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाइ बहुमत पाएकोमा उसका १ सय ८२ जना सांसद छन् । जसमा नयाँ जनप्रतिनिधिको बाहुल्यता छ । संख्यात्मक रुपमा संसदमा प्रतिपक्ष कमजोर देखिएको अवस्थामा रास्वपाकै युवा सांसदहरु रचनात्मक भूमिका खेल्ने बताइरहेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीमा समेत नयाँ अनुहारको बाहुल्य छ । यी दलका सांसदसमेत उस्तै उत्साह र जिम्मेवारी बोध महसुस गरिरहेका छन् । नयाँ सांसदको उत्साह सकारात्मक संकेत भए पनि अबको चुनौती भनेको विगतमा मतदातासँग गरेका प्रतिबद्धता व्यवहारमा रूपान्तरण गर्नु हो ।
उमेर र भूमिकाले नयाँ भएपनि अधिकांश सांसद योग्यता, विज्ञता र क्षमताले भने अनुभवी छन् । कोही पार्टीका भातृसंस्थामा काम गर्दै खारिएर आएका छन् भने कोही पेशागत रुपमा आफ्नै क्षेत्रमा विज्ञता हासिल गरेर यहाँ पुगेका हुन् । आफ्नो रुची अनुसार र समय सान्दर्भिक भूमिका खेल्ने उनीहरुको भनाइ छ ।
संसदमा पुगेका यी अनुहारमध्ये केहीले मधेशको प्रतिनिधित्व गर्दैछन् भने कोही कर्णालीदेखि विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्छन् । जसले त्यहाँको स्थानीय मुद्दादेखि राष्ट्रिय राजनीतिका मुद्दामा आफ्नो भूमिका निर्वाह गर्ने बताइरहेका छन् ।
उनीहरूले जनताका अपेक्षा पूरा गर्न पारदर्शिता, सुशासन र विकासलाई प्राथमिकतामा राख्ने बताएका छन् । स्वयं सांसदहरुले संसदमा नयाँ सोच र ऊर्जा ल्याउने अपेक्षा गरेका छन् । उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासजस्ता क्षेत्रमा विशेष ध्यान दिने उनीहरुको भनाइ छ ।
अब सांसदहरूले कानुन निर्माण, सरकारको निगरानी तथा जनताको मुद्दा उठाउने जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । यो भूमिका कसरी निर्वाह गर्छन् भन्ने निकट भविष्यमा देखिनेछ ।