
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ (राई)ले आफ्नो पार्टीले संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । नवनिर्वाचित सांसदको सपथ समारोहमा सहभागी हुन आज सिंहदरबारस्थित संसद् भवन पुग्नुभएका उहाँले सञ्चारकर्मीसँग सरकारलाई सिर्जनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्ने बताउनुभयो ।
“प्रतिपक्षमा रहेर सरकारलाई जवाफदेही बनाउन प्रश्न गर्छौं, सहयोग गर्छौं, सरकारले गर्नुपर्ने काममा प्रतिपक्षले रचनात्मक सहयोग गर्नेछ । सरकार र देशलाई सघाउने पक्षमा सदैव सकारात्मक भूमिकामा रहने छौं । प्रतिपक्षमा रहेर सशक्त भूमिका निर्वाह गर्छौं”, अध्यक्ष राईले भन्नुभयो । सुनसरी क्षेत्र नं १ बाट निर्वाचित सांसद राईले देशभर स्वच्छ पिउने पानीको पहुँच पुर्याउन आफू लागिपर्ने बताउनुभयो ।