
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशन अगामी असोज १६ देखि १९ गतेसम्म गर्नेगरी कार्यतालिका संशोधनसहित पारित गरेको छ ।
बुधबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । उहाँले १५औँ महाधिवेशनको प्रक्रिया यही चैत २३ गतेदेखि सुरू हुने समेत जानकारी दिनुभयो । कार्यतालिकाअनुसार २०८३ भदौ २ गतेदेखि वडा अधिवेशन, गाउँ तथा नगर अधिवेशन भदौ ७ मा हुनेगरी निर्णय गरिएको बताइएको छ ।
उहाँले बैठकले पार्टीको केन्द्रीय महाधिवेशन अगामी असोज १६,१७, १८ र १९ गते काठमाडौंमा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीको १५औँ महाधिवेशनको मिति पारित भयो । महाधिवेशनको प्रक्रिया चैत २१ गतेबाट सुरू गर्छौं । महाधिवेशनको फाइनल अगामी असोज १६, १७, १८ र १९ मा हुन्छ । बाँकी निर्णयहरूबारे बिहीबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौं ।’
बैठकले सरकार निर्माणको क्रममा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई औपचारिक रूपमा बधाइ एवं शुभकामना दिएको उहाँले बताउनुभयो । बैठकका बाँकी निर्णयहरू बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।