प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले लिए पद तथा गोपनीयताको सपथ

चैत्र १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौँ । २६ वर्षपछि एक दलको पूर्ण बहुमतसहितको प्रतिनिधिसभाको कार्यकाल आज प्रारम्भ भएको छ । जेन-जी आन्दोलनको जगमा फागुन २१ मा भएको प्रतिनिधिसभाको निर्वाचनबाट विजयी सांसदहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनिर्वाचित सांसदहरूलाई जेष्ठ सदस्य अर्जुननरसिंह केसीले संसदको नयाँ भवन सिंहदरवारस्थति बहुउदेश्यीय हलमा शपथ गराउनु भएको हो ।

केसीले हिजो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सपथ लिनु भएको थियो । २ सय ७५ जना सांसदहरूमध्ये ६१ जनाले मातृभाषामा सपथ लिएका छन् । उनीहरूले नेपाल भाषा, डोटेली, मैथिली, बज्जिका, भोजपुरी, थारू, मगही, संस्कृत, चाम्लिङ, तामाङ, छन्त्याललगायत भाषामा सपथ लिएका छन् । मातृभाषामा सपथ लिएकाहरूले नेपाली र मातृभाषा दुवैमा हस्ताक्षर गरेका छन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १ सय ८२ सिटको प्रचण्ड बहुमत प्राप्त गरेको छ । २०५६ सालको प्रतिनिधिसभापछि कुनै पनि राजनीतिक दलले निर्वाचनमा एकल बहुमत प्राप्त गरेको यो पहिलो पटक हो। २०५६ सालमा २०५ सदस्यीय प्रतिनिधिसभामा नेपाली कांग्रेसले १ सय ११ स्थान जित्दै बहुमत ल्याएको थियो। मिश्रित निर्वाचन प्रणालीअनुसार हुने प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दललाई सामान्य बहुमत ल्याउन पनि कठिन हुने ठानिए पनि रास्वपाले स्पष्ट बहुमत पनि पार गर्दै करिब दुई तिहाइ मत ल्यायो । अघिल्लो प्रतिनिधिसभामा पहिलो दल बनेको नेपाली कांग्रेस नयाँ संसद्‌मा ३८ स्थानमा खुम्चिएको छ भने नेकपा एमालेको २५ सिट, नेपाली कम्युनिस्ट पार्टी नेकपाको १७, श्रम संस्कृति पार्टीको सात र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको पाँच सिट छ। यस्तै, म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुन पनि संसद्‌ प्रवेश गर्नु्भएको छ ।

सांसदहरूको सपथपछि राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्नुहुनेछ । अधिवेशनको पहिलो बैठकमा दुवै सदनलाई राष्ट्रपतिले सआम्बोधन गर्नुहुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.