
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब सडकबाटै पार्टीले सरकार चलाउने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित पार्टीको बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा बाेल्दै उहाँले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि सडकबाटै आम जनताको सरकारको रूपमा काम गर्ने बताउनुभएको हो ।
मुलुकको राष्ट्रियता, विद्यमान समस्या समाधान गर्दै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आफ्नो पार्टीले सडकबाटै सशक्त भूमिका निर्वाह गर्ने अध्यक्ष घिसिङको भनाइ थियो । उहाँले देशलाई सही बाटोमा लैजानका लागि सरकारलाई खबरदारीको काम गर्ने पनि आफ्नो पार्टीको प्रतिबद्धता रहेको बताउनु भयो ।
अध्यक्ष घिसिङले आफ्नो पार्टी जनताको घरदैलोमा पुग्ने र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा नेपालको सशक्त पार्टीको रूपमा उदय हुने जिकिर समेत गर्नु भयो । अध्यक्ष घिसिङले प्रतिनिधि सभा निर्वाचनमा थोरै समय भएकाे कारण आफ्नो पार्टीले हार व्यहोर्नुपरेको निष्कर्ष पनि सुनाउनु भयो ।