बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्दै रास्वपा

चैत्र १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्दै छ । त्यसका लागि रास्वपाको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । 

केन्द्रीय समिति बैठक लगत्तै संसदीय दलको बैठक बस्ने कार्यसूची छ । संसदीय दलको बैठकले शाहलाई संसदीय दलको नेतामा चयन गर्नेछ ।

रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डाबारे छलफल गर्नका लागि आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बोलाएको हो । गत पुस १३ गते काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहसँग ७ बुँदे सहमति गर्दा सहमतिको बुँदा नं ४ मा रवि लामिछाने पार्टी सभापति र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो । विगतमा भएको ७ बुँदे सहमति बमोजिम संसदीय दलको बैठकले बालेन्द्रलाई दलको नेता छान्ने एक नेताले बताए । भोलि बालेन्द्रले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएकाले त्यसअगावै पार्टीले उहाँलाई संसदीय दलको नेता चयन गरिएको जानकारी राष्ट्रपति कार्यालयलाई दिनेछ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत ल्याएकाले संविधानको धारा ७६(१) बमोजिम बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्नुहुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.