चुनावपछि कांग्रेसमा शक्तिसंघर्ष चर्कियो

केन्द्रीय समिति सभापति थापाको राजीनामा फिर्ताको पक्षमा उभिँदा देउवा समूह सक्रिय
छुट्टै बैठक बोलाउने तयारी
चैत्र ८, २०८२ |प्रकाश बम
चुनावपछि कांग्रेसमा शक्तिसंघर्ष चर्कियो

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनअघि एउटा भाष्य थियो- सभापति शेरबहादुर देउवाविना कांग्रेस चल्दैन । 

देउवाको वरिपरि रहेर राजनीतिक लाभ लिनेहरूको भीड थियो । तर, महामन्त्री गगन थापा पक्षले अब पुरानाबाट कांग्रेस चल्दैन भन्यो र विशेष महाधिवेशनबाट नेतृत्व खोस्यो । रूपान्तरित कांग्रेस भन्दै थापाकै हस्ताक्षरमा टिकट बाँडियो र चुनावमा होमियो । तर, कांग्रेसले चुनाव हार्यो । 

चुनावपछि फेरि उस्तै दृश्य छ- सभापति गगन थापाविना कांग्रेस चल्दैन भनेर राजनीतिक भविष्य सुनिश्चित गर्नेहरूको लाम बढ्दै गएको छ । केन्द्रीय समितिले त थापाले नैतिकताका आधारमा दिएको राजीनामासमेत अस्वीकृत गरिएको छ । चुनावमा लज्जाजनक पराजयसँगै पार्टीभित्र बढ्दै गएको विवाद समाधानतर्फ भने कांग्रेसको वर्तमान संस्थापनपक्षले ध्यान दिएको छैन । 

विवाद कायमै राखेर चुनावमा जाँदा बेहोरेको हारबाट पाठ सिक्नुपर्नेमा नेतृत्वले त्यसतर्फ प्रयास नै गरेको देखिँदैन । जसले कांग्रेसमा आरोप-प्रत्यारोप, आन्तरिक शक्तिसंघर्ष र गुटबन्दी झन् चर्काउँदै लगेको छ । निर्वाचनलगत्तै बोलाइएकाले कांग्रेस केन्द्रीय समितिमा पार्टीले भोग्नुपरेको लज्जाजनक हारको गम्भीर छलफल हुने र त्यसअनुसार अबका रणनीति तय हुने अनुमान गरिएको थियो । तर, त्यसो भएन । 

निर्वाचनको सामान्य समीक्षामात्र गरेर बैठक सभापति गगन थापाको राजीनामामा केन्द्रित भयो र निष्कर्ष निकालियो-राजीनामा अस्वीकृत गर्नुपर्छ । गत पुस अन्तिममा गरेको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष पार्टीबाट बाहिरै छ। 

नेता शेखर कोइराला पक्षले चुनावमा भाग लिए पनि पूर्णत: नेतृत्व स्वीकारिसकेको छैन। विवाद कायमै राखेर निर्वाचनमा जाँदा बेहोरेको हारबाट पाठ सिक्दै वर्तमान कार्यसमितिको पहिलो प्राथमिकता आन्तरिक एकतामा हुनुपर्थ्यो । तर, अहिलेसम्म यो प्रयास गरेको देखिँदैन । 

१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले बहुमतको दम्भ देखाउँदै विशेष महाधिवेशनलाई इन्कार गर्दा आधिकारिकता नै गुमाउनु पर्यो । विगतमा देउवाका वरिपरि रहेका शीर्ष नेता, पदाधिकारी र पूर्वपदाधिकारीले जे गरेका थिए, अहिले सभापति थापा वरपर रहेका पदाधिकारी र केन्द्रीय समिति सदस्यले त्यही गरिरहेका छन् ।

विगतमा देउवाविना पार्टी चल्दैन भन्ने भाष्य कांग्रेसमा बनाइएको थियो, जसलाई थापा नेतृत्वको समूहले अस्वीकार मात्रै गरेको थिएन, विशेष महाधिवेशनमार्फत देउवालाई विस्थापन गरेको थियो । तर, अहिले सभापतिको थापाको नेतृत्वमा निर्वाचन जाँदा जनादेशले अस्वीकृत गर्दासमेत गगन थापाविना कांग्रेस चल्दैन भन्ने भाष्य बनाइएको नेताहरुको भनाइ छ, जसले गर्दा गगन थापालाई नै नैतिक संकटतर्फ धकेलिरहेको छ । 

देउवालाई विस्थापन गरेको कांग्रेसले आफूलाई कांग्रेस २.० भनेको थियो तर अहिले देउवा २.० बनेको भन्दै आलोचना हुन थालेको छ । गगन थापा र अहिलेको कार्यसमितिलाई तत्काल नियमित महाधिवेशन गरेर कांग्रेस एक बनाउने अवसर छ । तर, त्यतातर्फ भने ध्यान दिएको देखिँदैन ।

विशेष महाधिवेशनले तल्लो तहसम्मै विभाजित कार्यकर्तामा एक भएको सन्देश दिन कांग्रेस चुकिरहेको छ । बरू निर्वाचनमा नलडेका र टिकट नपाएकाहरुले असहयोग गर्दा पराजित हुनुपरेको विश्लेषण नेताहरू गरिरहेका छन् । तर, अर्काथरि भने थापा नेतृत्वमा चुनावमा जाँदा कम्तिमा दोस्रो भएको, देउवाको नेतृत्वमा निर्वाचनमा गएको भए अझै कमजोर हुने तर्क गरिरहेका छन् ।

पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वाच्च अदालततको फैसला पर्खिरहेको छ । अहिले समूहको बैठक बोलाउनेदेखि अन्य समानान्तर गतिविधि गर्नेसम्मका विकल्पमा नेताहरूले छलफल गरिरहेका छन् । देउवा विदेशबाट फर्किएपछि गतिविधिले झन् तीब्रता पाउने नेताहरूको भनाइ छ । चुनावको मुखमा मौन बसेको यो पक्ष अब खुल्न थालेको छ ।

तर, देउवा पक्षलाई मिलाउने जिम्मेवारीसमेत बोकेको बर्तमान केन्द्रीय समितिमा हुर्कँदै गरेको दम्भ र दम्भकै कारण किनारामा पुगेको देउवा पक्षको गैरजिम्मेवारीका कारण कांग्रेसभित्रको विवाद झन् अन्योलग्रस्त बनेको छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।