
काठमाडौं । नेपाली कांग्रेसभित्रको शक्ति संघर्षले पार्टीलाई विभाजनको संघारमा पुर्याएको छ ।
एकातिर गगन थापा नेतृत्वको वर्तमान कार्यसमिति निर्वाचन समीक्षाका लागि बैठकहरू गरिरहेको छ भने अर्कोतिर देउवा र कोइराला समूहले समानान्तर रूपमा आफ्ना गतिविधिहरू अगाडि बढाइरहेका छन् । यो अवस्थाले कांग्रेसको भविष्यलाई झनै अन्योलपूर्ण र जोखिमपूर्ण बनाएको छ ।
नेता श्याम घिमिरेले पार्टीभित्रको यो ‘इगो’ को लडाईंले आगामी निर्वाचनमा कांग्रेसलाई झनै खुम्च्याउने चेतावनी दिनुभयो । घिमिरेकाअनुसार अहिलेको मुख्य आवश्यकता भनेको पार्टीलाई एकजुट बनाएर लैजानु हो । तर, अहिलेको अवस्थामा दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहँदा कार्यकर्ताहरूमा निराशा छाएको छ ।
देउवा–कोइराला समूहले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको छुट्टै बैठक बोलाउने तयारी गर्नुले पार्टीभित्र दुईवटा समानान्तर केन्द्रहरू बनेको प्रस्ट हुन्छ । यो शक्ति संघर्षले नेपाली कांग्रेसको सांगठनिक ढाँचालाई नै कमजोर बनाउँदै लगेको छ ।
घिमिरेले चेतावनी दिँदै यदि समयमै यो विवाद समाधान भएन भने कांग्रेसले आफ्नो ऐतिहासिक विरासत गुमाउन सक्ने बताउनु भयाे । आगामी निर्वाचनमा अस्तित्वको संकट व्यहोर्नुपर्ने हुनसक्ने उहाँको भनाइ छ । सबैको नजर अब पार्टीका शीर्ष नेताहरूले लिने निर्णय र सर्वोच्च अदालतको फैसलामा अडिएको छ ।
नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र कार्यविभाजनलाई लिएर नयाँ र गम्भीर विवाद सतहमा आएको छ । पार्टीका निःवर्तमान सभापति शेरबहादुर देउवा र प्रभावशाली नेता डा. शेखर कोइराला समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको छुट्टै र विशेष बैठक बोलाउने तयारीलाई तिव्रता दिएका हुन् ।
यो कदमले पार्टीको वर्तमान संस्थापन पक्ष र असन्तुष्ट पक्षबीचको खाडल झनै फराकिलो बनाउने देखिएको छ । आइतबार धुम्बाराहीमा बसेको देउवा र कोइराला पक्षका शीर्ष नेताहरूको गोप्य भनिएको बैठकले हालै सम्पन्न निर्वाचनको परिणाम र पार्टीको आन्तरिक अवस्थाको गम्भीर समीक्षा गरेको छ ।
बैठकमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डा।. शेखर कोइरालासहितका निवर्तमान कार्यसमिति र कार्यसम्पादन समितिका प्रभावशाली नेताहरूको बाक्लो उपस्थिति रहेको थियो । उनीहरूले वर्तमान नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको निष्कर्ष निकाल्दै पुरानै कार्यसमितिको बैठक बोलाउनु पर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसका नेता श्याम घिमिरेकाअनुसार पार्टी निर्वाचनमा नराम्रोसँग पराजित हुनुको एउटा मुख्य कारण १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई भूमिकाविहीन बनाइनु पनि हो । राजनीतिमा अनौपचारिक भेटघाट र सम्पर्क भइराख्ने कुरा स्वाभाविक भए पनि अहिलेको परिस्थितिमा यो छलफलले विशेष अर्थ राख्छ ।
देउवा पक्षद्वारा आधिकारिक रूपमा केन्द्रीय समितिको फर्मल बैठक बोलाइहाल्ने निर्णय भइ नसके पनि नेताहरूको आवाज र दबाब निकै बढेको उहाँले बताउनु भयो । निर्वाचन समीक्षाका लागि पुरानै कार्यसमितिको बैठक बोलाउनुपर्ने मागले पार्टीभित्र नयाँ ध्रुवीकरण सिर्जना गरेको छ । यो छलफलले आगामी दिनमा नेपाली कांग्रेसको आन्तरिक राजनीतिलाई कुन दिशामा लैजान्छ भन्ने कुरा सबैको चासोको विषय बनेको छ ।